उसलाई कसरी श्रीमान मान्ने ?



मेरो परिवारले खोजेको, रोजेको मेरो श्रीमान अग्लो, दुब्लो, झुस्स दारी वाल । म उसको श्रीमती भएको २ वर्ष पूरा भयो । उसले ब्याचलर जोइन (एड्मिसन) गरेर छोडेको म एसएलसी पढेर छोडेको । मैलेभन्दा बढी पढेकै केटा चाहिने रे बा आमालाई ।

पढेको केटाले सुखसँग पाल्छ रे, धेरै बुझ्ने हुन्छ रे । आफ्ना बा आमाको कुरा कसरी काट्ने ? मैले पनि बिहे गरे । काठमाडौं जस्तो सहरमा म र उ मात्र कोठामा बस्थ्यौ । बिहे गरेर उसको श्रीमती बनेदेखिको मेरो दैनिकी फेरीएको थियो । बिहानै उठेर नुहाइधुवाइ गर्नु, चिया वा कफी बेडमा लग्दिनु, फेरी खाना पकाएर अफिस जानु अघि ठिक्क बनाइदिनु, अफिस जानका लागि कपडा ठिक्क पार्नु, श्रीमान अफिस गएपछि सरसफाइ गर्नु, उसले दिनैपिच्छे फेरेको कपडा धुनुदेखि लिएर सबै थोक गर्नु, फेरी अफिसदेखि घर आएपछि नास्ता गराउनु, अनि फेरी खाना पकाएर खुवाउनु, यस्तै यस्तै । बेलुकासम्म गलेर लखतरान भएको हुन्थे ।

तर मेरो श्रीमान बनेको २ वर्ष पुगे पनि श्रीमानको माया कस्तो हुन्छ वा भनौं श्रीमानको मिठो बोलि कस्तो हुन्छ सुन्न पाएको थिइन् । उसलाई खाना पकाउन आउछ कि नाई उसले पकाएर दियो भने कस्तो पकाउछ होला ? त्यो पनि थाहा थिएन । मैले सकि नसकि पकाएर दिएको खाना जहिले नमिठो भनेर झर्किने, गाली गर्ने ।

यसरी नै बितिरहेको थियो दिनहरु । एक दिनको कुरा हो, सदा झै बिहानै उठे । उठ्ने मन त खासै थिएन । तर, के गर्ने गाली र पिटाइ खानुभन्दा सकिनसकि उठ्नु नै थियो । उठेर चिया नास्ता तयार गरेर ढोका नजिकै के पुगेको थिए मेरो पाइला त्यहि टक्क अडियो । किन भने मेरो श्रीमानले मायालु स्वरमा ‘गुड मर्निङ’ भनिरहेका थिए । मेरो श्रीमानले पनि यति मिठो बोलि बोल्दा रहेछन् भनेर पहिलो चोटि थाहा पाए । एकछिन के–के बोल्दा रहेछन् भनेर अलि टाउको तन्काएर सुन्न के लागेको थिए, छिन्द्रिङ्ग चुरा बजि हाल्यो । त्यसैले पनि होला हामी महिलाहरुलाई खुट्टामा पाउजु, हातमा चुरा लगाउनु पर्छ भन्ने परम्परा बनाएको । पुरुषहरु जता जता गए पनि महिलाले पछ्याएको छ कि नाई भनेर थाहा पाउन । त्यसपछि सुने पनि नसुने झै गरेर ढोका खोले तर उ त मोबाइल सिरानीमुनि राखेर निदाएको नाटक गरिरहेका रहेछन् ।

मलाई त्यसपछि एकदमै रिस उठ्यो । नास्ता खान उठ्नु है भनेर चिया नास्ता टेबलमा राखेर किचनमा फर्किए । के गरु कसो गरु भयो । एसो सोचे, ‘बहिनीसँग बोलेको भए त, त त र म म हुन्थ्यो । साथीसँग बोलेको भए पनि त्यस्तै । त्यतिसम्म मायालु स्वरमा त नबोल्नु पर्ने ? यो भन्दा पहिला त कोहिसँग पनि बोलेको सुनेको थिइन् । आमा बासँग भनुभने आमा बा छैनन् ।’ यी नै प्रश्नले मेरो दिमाख खायो ।

कसले फोन गरेको भनेर सोधु पनि कसरी एकै गाँसमा मलाई खाउला झै गरिहाल्छन् । मन नलागि नलागि खाना खुवाएर अफिस पढाए । मलाई खाना खान मन पनि लागेन ।

काम गर्न पनि मन लागेन त्यतिकै बसे । ज्वरो आउला जस्तो भयो, रिगाटा चल्यो । फेरी आफुले आफुलाई सम्झाए, ‘उ त मेरो श्रीमान हो । त्यसो गर्न सक्दैनन् । आगोलाई साक्षी राखेर सँगै बाच्ने सँगै मर्ने कसम खाएर झ्याइ झ्याइ बाजा बजाएर मलाई आफ्नो आफ्नो दुलहि बनाएर घरमा भित्र्याएको पो हो । उसले मलाई धोका निद सक्दैन । शंका गर्नु हुँदैन । मेरो श्रीमानले तेसो गर्नै सक्दैनन् । यस्तै यस्तै कुराले आफुलाई सम्झाए ।

यो बाहेक मसँग अरु केहि उपाय पनि त थिएन । सँगैका साथिहरुकोे कुरा सुन्दा उनीहरुको श्रीमानले गरेको सपोर्ट हेर्दा त मेरो श्रीमान त राक्षस थियो । उनीहरुका श्रीमानले बालबच्चा हेर्ने देखि लिएर खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने सबै काममा सघाउने गर्छन् । मैले चै कस्तो श्रीमान पाए छुँ । बाआमाले त राम्रो छ भनेर जबरजस्ती बिहे गरिदिए । अहिले बाआमादेखि पनि रिस उठ्छ । तर, के गर्ने सायद मेरो भाग्य नै त्यस्तै लेखेको रइछ । दिनभरि बिहानकै कुराले केहि गर्न मन छैन । कति आफुने आफुलाई सम्झाए । तर, मनले मान्दै मान्दैन । कोसँग कुरा गरेको जान्न पाए हुन्थ्यो भन्ने मात्र लागि रह्यो । त्यहि एउटा कुरा मात्र दिमागमा घुमिरह्यो ।

यसो सोचे आज फकाएर सोध्छु । उसलाई मन पर्ने खाना पकाएर दिन्छु अलि खुसि हुन्छन् कि भनेर सोचे । त्यसपछि दुध ल्याएर खिर पकाए । उसलाई खिर एकदमै मन पर्छ । बेलुका अफिसबाट आयो तर मसँग एक शब्द पनि बोलेन । खिर खाएपछि त अलि खुसि हुन्छ कि भनेको त्यहि पनि भएनन् ।

आज त झन एक बचन पनि बोलेनन् । अब कसरी सोधु, कुरा कहाँबाट शुरु गरु, दिउँसो त सोध्ने आट आएको थियो । तर, अहिले त उसलाई सिधा नजरले पनि हेर्न सकिन । चिट चिट पसिना पो आउन थाल्यो । एक मनले भन्छ सोध जसरी हुन्छ सोध । अर्को मनले भन्छ होस् नसोध उ श्रीमान हो श्रीमानले कहिले धोका दिन सक्दैन । के गरु कसो गरु भयो ।

एक घण्टा जति टोलाएर त्यहि बसे । खान मन लागेन । खाना छोपछाप पारेर उसको लागि दुध तताएर लिएर गए । उ त सुति पो सकेछ । यसो हेरे सिरानी मुनि मोबाइल राखेर सुतेको रहेछ । मन फुरुङ्ग भयो । अब मोबाइमा म्यासेज अथवा फेसबुकमा त कुरा भएको होला पक्कै त्यहिबाट पत्ता लगाछु भनेर सोचे । जति उ नजिक गर्यो त्यति मेरो मुटु कापी रहेको थियो । पहिलो चोटि उसको मोबाइल चेक गर्न लागेको थिए म ।

एक चोटि बोलाए, उठेनन् । सायद आज थाकेर निदाए होला भन्ने सोचे । त्यसपछि बिस्तारै मोबाइल ताने । मेरो हात खुट्टा थरर कापी रहेको थियो त्यहि पनि आट गरे जसरी हुन्छ मलाई पत्ता लगाउनु थियो । त्यसपछि बेडदेखि बिस्तारै तल बसेर यसो मोबाइल खोल्छु लक पो रहेछ । अर्को फसाद भयो । अब कसरी लक खोल्ने ?

यसो सोचे र जुक्ति निकालें । ‘बाबा उठ्नुस् न, दुध सेलाउन लागि सक्यो । दुई तीन पटक घचघच्याए पछि उठे र बोले म आज दुध खान्न । त्यतिकै होस् यति भनेर फेरी आखाँ चिम्म गरे । फेरी मैले भने, ‘मम्मि बिरामी हुनुहुन्छ रे कुरा गर्नु भनेको मेरो मोबाइलमा पैसा नै सकिए छ । म मम्मिसँग कुरा गर्छु । लक खोल्दिनुन ।’

त्यसपछि केहि नभनि पासवर्ड हानेर मोबाइल मलाई दिए । मलाई पनि खोजे जस्तै भयो ।

तर मोबाइल चेक गर्दागर्दै उठ्लान कि भनेर एकदमै डर लागिरहेको थियो । बा सुते जस्तो गरेर नाटक पो पारिराछन्, देखि हाले भने के भन्ने । मनमा डर त्यतिकै थियो तर मलाई जसरी भएपनि पत्ता लगाउनु थियो । त्यपछि मेरो मोबाइलमा गीत बजाए । फेरी एक पटक बोलाए । बोलेनन् ।
सायद निदाकै होलान् भनेर हतार हतार मोबाइल खोलेर म्यासेज हेरे तर खासै शंका गर्नु पर्ने ठाउँ देखिन । त्यस पछि आफैदेखि रिस उठेर आयो ।

‘बेकारमा बिहानदेखि खाना पनि नखाई आफ्नै श्रीमानलाई यति धेरै शंका गरे । म आफै पापि हुँ । बेकारमा टेन्सन लिए । अफिसमा काम गर्दागर्दा दिक्क भएर होला मलाई यस्तो व्यवहार गरेको । जे जस्तो भएपनि मेरो बुबाआमाले मलाई गलत मान्छेसँग चै बिहे गरिदिनु भएको होइन रहेछ । अबदेखि म कहिले पनि शंका गर्दिन ।’

यति सोचेर मोबाइल राख्न मात्र के लागेको थिए । एउटा केटिको म्यासेज आयो, ‘ बेबी प्लिज मसँग नरिसाउन । बुडु सरी सरी सरी..। म्यासेन्जरमा कुरा गरन प्लिज, म सबै कुरा भन्छु के प्लिज । आइ मिस यू, आई लभ यू’

म झसँग भए । छाँगाबाट खसे जस्तो भए । के गरु कसो गरु, कता जाउ, चिट चिट पसिना आउन थाल्यो । मुटुले ठाउँ छोड्यो । थरथर कापीरहेका मेरा हातले म्यासेन्जर खेले । उ ‘अनु’ भन्ने केटी रहिछे । सिकुटी एकदमै भर्खरकी राम्री । जिउडाल मिलेकी ।

मसँग दाज्दा त मलाई त कुकुरलाई दिँदा पनि नखाला जस्तो उ त यसो छुदा पनि दाग लाग्ला जस्ती । म गाउँकी कुर्ता र मेक्सी लगाउने उ कता छोटा छोटा ‘वान पिस’, पेन्ट लगाउने । म र उ मा धेरै फरक पाए । आखिरमा मेरो श्रीमानको जोडि उसँगै मिल्छ जस्तो लाग्यो ।’

त्यो भन्दा पहिलाको च्याट थिएन उसको मोबाइलमा । नम्बर हेरे अनु नाममा सेभ भएको नम्बर पनि छैन । उ भकाभक म्यासेज गरी रहि म हेरेको हेरेकै भए । त्यो केटिले खेलेको म्यासेजले सबै थाहा पाए । उनीहरु बीच सबै कुरा भएको रहेछ जुन श्रीमान र श्रीमतीबीच मात्र हुन्छ । उसले गरेका केही शब्द यस्ता थिए जुन श्रीमान् श्रीमतीबीच हुन्छ र केही शब्द यस्ता थिए जुन शब्द मैले सुनेकै थिइन् ।

केटीले बिहे गर्न जिद्धी गरिरहेकी रहेछ । उताबाट बोल्नलाई भनेको भनेकै थिइन् । उसलाई के थाहा । उसले पठाएको म्यासेज उसैको सौताले हेरिरहेको छ भनेर । धेरै म्यासेज आयो हेरेर पनि रिप्लाई नआए पछि फोन आउन थाल्यो लगातार । त्यसपछि त भिडियो कल नै आउन थाल्यो । त्यसपछि मैले म्यासेन्जर नै काटि दिए ।

त्यसछि असाहय भयो । एउटा हातले आशु पुछे अर्को हातले बाच्चा हुर्कदै गरेको मेरो पेटमा छामे । मेरो श्रीमान् जो मैले सर्वस्व ठानेको मान्छे त अर्कै केटिको मायामा डुबेको हेर्दा म छाँगाबाट खसे जस्ता भएकी थिए ।

मेरो आँखाबाट निरन्तर आँशुका धारा बगिरहेका थिए । म एका एक रित्तो रित्तो भएको थिए । मेरो भाग्यदेखि रिस उठ्यो । मेरो श्रीमान भनाउदादेखि रिस उठ्यो । मेरो बाआमादेखि रिस उठ्यो ।

‘अरुनै सँग माया गास्नुु थियो त मलाई के खान बिहे गर्नु ? बिहे नै गरे पनि किन बच्चा बनाउनु । यो निर्दोष बच्चाको के दोष थियो, जसले धर्तीमै पाइला टेकेको छैन ।”

सोफाबाट उठेर बाथरुम गए । ऐनामा आफ्नो अनुहार देखेर रिस उठ्यो । चिच्याई चिच्याई रुन मन लाग्यो । मनले के के सोच्यो सोच्यो । रातको १२ बजेको थियो । मलाई बाच्ने मन लागेन । त्यति धेरै डराउने म कुनै पनि डर लागेन । लुगा सुकाउन राखेको डोरी झिकेँ र किचन गए ।

उसले मलाई गरेका तुच्छ शब्दहरू, उसले मलाई गरेका बेवास्ता, उसले मेरो जिउमा बर्षाएको मुक्का र लात्ति सम्झिए । त्यपछि मलाई बाँच्न नै व्यर्थ लाग्न थाल्यो ।

फेरी एक पटक मेरा श्रीमानको अनुहार हेर्न मन लाग्यो जे जे भएपनि मैले त उसलाई माया गरेको थिए । उ बच्चा जसरी निदाइ रहेको थियो । अझ पेटको बच्चा त हुर्कंदै पनि थियो । बच्चालाई पनि सम्झिएँ । के गरूँ नगरु दिमागले सोच्न सकेन । टाउको फुट्ला झै गरेर रन्किरहेको थियो । म पागल जस्तै भएको थिए । बच्चाको बारे धेरै सोचे । अन्ततः मायाले जित्यो । म मर्न सकिनँ ।

बिहानको ४ बजिसकेको थियो । मलाई डोरी फाकेर आमालाई अङ्गालेर डाँको छोडेर रुम मन लाग्यो । त्यसपछि श्रीमानलाई अङ्गालेर रुदै धेरै प्रश्न गर्न मन लाग्यो । बरु मलाई दिनदिनै पिटेको सहन्थें तर किन यसरी धोका दियौ भन्न चाहन्थें । तर सकिनँ । त्यसपछि फेरी सोचे “आखिर जस्तो भए नि यो मेरो श्रीमान हो । सात फेरो लिएर सँगै बाच्न सँगैे मर्ने कसम खाएको । मेरो बा आमाले कत्रो इज्जतका साथ बिहे गरेर दिएको । फेरी मलाई समाजले के भन्लान । म कहाँ गएर बस्ने? एकचोटि मानिसको गल्ती हुन्छ । मैले यसलाई माफ दिनुपर्छ भन्ने लाग्यो ।

बिहान पख जाडो बढे जस्तो भयो । शरीर थरथर काम्न थाल्यो । श्रीमान पनि उठे । उठ्ने बित्तिकै ट्वाइलेट गए । केही छिनपछि चिया भनेर अर्डर गरे । म रातभरि रोएर सुन्निएका आँखा र मुख सलले छोपेर चिया बनाउन उठें । डर पनि त्यतिकै लागेको थियो । मैले त्यो केटिको म्यासेज हेरेको थाहा पाए पछि के भन्लान् । एक मनले सोच्यो,‘हैन नबिगार्ने नडराउने । मैले कुनै गल्ति नै गरेको छैन त म किन डराउने गल्ति त उसले पो गरेको छ त । उ पो डराउने हो भन्ने पनि लाग्यो ।’

बल्ल बल्ल चिया बनाएर श्रीमानलाई दिएँ । उनले एक चोटि मेरो मुख पनि हेरेनन् । के भएको छ कसो भएको छ सोध्दा पनि सोधेनन् । मलाई त एक पटक सोधि दिएपनि सन्चो हुन्छ जस्तो लागेको थियो तर के गर्नु । सोचे जस्तो कहाँ हुन्छ र उसको फोन बजेको बजेकै थियो । म त्यहि थिए । उ काटेको काटेकै गरिरहेका थिए । पछि फोन उठाएर बोल्दै बाइक स्टाट गरेर गयो ।

त्यसपछि मेरो मनमा झन् ढ्यांग्रो बज्यो । “कतै त्यहि केटिलाई सिधै भित्र्याउने पो होकि मैले म्यासेज हेरेको थाहाँ पाएर । त्यसपछि हतार हतार फेसबुक खोलेर त्यहि केटिलाई रिक्वयस्ट पठाए । उ पनि अनलाइ रैछे । रिक्वएस्ट एसेप्ट गरिहालि उसले के सम्झेर एसेप्ट गरि त्यो त थाहाँ भएन । जसरी भएपनि आज एउटा न एउटा कुरा हुन्छ भन्ने लागेको थियो । त्यसपछि हिम्मत गरेर । त्यो केटिलाई म्यासेन्जरमा नै फोन गरे ।

किनकी मलाई लाग्यो,‘उ पनि त महिला हो । महिलाको पीडा महिलाले नै बुझ्छन् जस्तो लाग्यो ।’ उसले फन उठाई, त्यसपछि मैल भने, ‘हेर अनु म तिमीलाई चिन्छु । मेरो श्रीमानसँग तिम्रो सम्बन्ध रहेछ । सायद यो कुरा म बच्चा जन्माइसकेपछि थाहा पाएको भए या त म बच्चा नै नपाउने भएको भए त्यति पीडा हुन्थेन होला जति पीडा आज भएको छ । तिमी पनि महिला हौँ । एक दिन तिमी पनि आमा बन्नेछौँ । गर्भमा बच्चा रहँदा श्रीमानको माया कति आवश्यक हुन्छ त्यो पनि तिमीले बुझ्छौ होला । आज मेरो यो अवस्थामा तिमीलाई मन पराउने मान्छे भोलि तिमी म जस्तै हुँदा अरुलाई मन नपराउला भन्न सकिन्न । राम्ररी बिचार गर । मेरो भविष्य त बिग्रिसक्यो । तर तिमी आफ्नो जिवन बर्वाद नपार । बेलैमा चोस । अहिले पनि केहि बिग्रेको छैन । तिम्रो उमेर पनि सानै छ । मलाई त बहिनी जस्तो लागेर भनेको हुँ ।’

यति भन्दा पनि केहि बोलिन र फोन काटि । त्यपछि त झन् रुन मन लाग्यो । भनु भने पनि कसलाई भनु । आफुले आफुलाई धेरै सम्झाए । यसरी पीडामा बस्नु भन्दा एक्लै जीवन काट्नु बेश होला जस्तो पनि लाग्यो ।

त्यसको ३ घण्टा पछि बाइक हुइकयाउदै आयो । मैले थाहा पाइलाहे त्यहि केटिलाई भेटेर आएको हो भनेर र सबै कुरा थाहा पायो भनेर ।

म सुति नै रहेको थिए । जुत्ता पनि नफुकालि डङ डङ गर्दै आएर मेरो कपाल समाउदै “तहिले त्यो अनु लाई के भनिस्, भन्दै लछार्दै जुत्ता बजार्न थाल्यो । कति दिन देखिको भोको, त्यसमाथि दुई जिउको म । त्यति मुर्छा परे । त खुरुक्क निस्किहाल् मेरो घरबाट । त बस्न नै पर्दैन । म आजै उसलाई भित्र्याउछु ।”

त्यसपछि त झन मनले के के हो के के सोच्न थाल्यो । बरु रातिनै आम्महत्या गरेको भए यति दुःख त सहनु पर्दैन थियो । आफुले आफुलाई धिकारे । तर दिमागले भन्यो हैन,‘आत्महत्या गर्नु कायरता हो । जिन्दगी दुई दिनको छ । सुख र दुःख नै जिन्दगीका पाटा हुन् । सधैं सुख मात्र मिल्यो भने सुख को के मूल्य ? जिन्दगी के रमाइलो ? यस्तो दुःख पर्दा त दिमागले काम गरेर समस्या समाधान गर्न सक्नुपर्छ । म पनि आफूले सक्ने काम गर्न सक्छु । एकलो जीवन जुठो भाँडा माझेरै भएपनि पाल्छु भन्ने लाग्यो ।’

रिसले मुरमुरिदै गन गन गर्दै एता उता घुमिरहेको थियो । बिस्तारै उठेर नजिकै रहेको झाडुले घुमाएर एक झाडु हाने अनि भने, ‘म अहिले तेरो घरबाट निस्कन्छु । मलाई अब हात मात्र हालिस् भने पुलिस बोलाउछु भन्दै, मुखमा आए जति सबै भने । सकि नसकि उठेर । लुगा पोको पारेर निस्के ।’

त्यसपछि जाँदा जादैं भने, बाटोमा कहीकतै भेट भइहाल्यो भने बोल्ने आँट नगर, भोलि नै सम्बन्ध बिच्छेदको प्रक्रिया अघि बढाउनु भन्दै पेटको बच्चा नै मेरो सहारा मानेर घरबाट माइतमा नै बस्ने निधो सहित निस्किएँ ।

प्रतिक्रिया दिनुहोस्