दहेजप्रथालाई निर्मुल पार्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने राज्यमन्त्री मण्डलको प्रतिबद्धता



सिरहा : प्रदेश २ का उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले दहेजप्रथालाई निर्मुल पार्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

सिरहाको कल्यानपुर नगरपालिका–१० स्थित सिन्चिरैया चोकमा दहेज मुक्त अपन मिथिला समाज सेवा संस्थाद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राज्यमन्त्री मण्डलले दहेजप्रथालाई निर्मुल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए ।

उनले दहेज हाम्रो समाजका लागि क्यान्सर भन्दा पनि ठुलो घातक रोग सरह रहेको जिकिर गरे । उनले भने,‘दहेज लिनु र दिनु दुबै कानूनी अपराध हो । तसर्थ अब हामी सबैजना मिलेर यसको विरोध गरौं ।’ प्रदेश नम्बर २ सहित अन्य स्थानहरूमा पनि दहेजमुक्त समाज घोषणा गर्नुपर्छ,‘मन्त्री मण्डलले भने ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष संजय कुमार साहले दाईजो प्रथा,महिला शोषण,महिला हिँसा,बलात्कार र भ्रष्टचारको विरुद्ध आवाज उठाउने,गरिब,दलित जनजाति,अपाङ्ग तथा असहायहरुको सहयोग गर्ने,छुवाछुत एवं कुविचार मुक्त समाज सहितको अभियान,गरिब,पिडित र असहाय बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने दहेज मुक्त अपन मिथिला समाज सेवाको उद्देश्य रहेको स्पष्ट पारेका थिए ।

कार्यक्रममा दहेज मुक्त अपन मिथिला समाज सेवाले आफ्नो संस्थाको कार्यसमितिलाई विस्तार गर्दै संस्थामा गिता देवी महरा,जासो देवी महरा,शान्ति देवी मण्डल र अनिता कामतिलाई सदस्य पदमा थप गरेको छ ।

कार्यक्रममा कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल,हरिदेव मण्डल,सियाराम पासवान, संस्थाका उपाध्यक्ष रामधनी राउत,सचिव संजय ठाकुर,कोषाध्यक्ष दिनेश कुमार मण्डल लगायत स्थानीय भद्रभलादमीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्