सटही काउण्टर नहुँदा सर्वसाधारणलाई सास्ती



जलेश्वर : महोत्तरीको भारतसँग जोडिएका सीमानाकामा वर्षौदेखि सटही काउण्टर नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । जिल्लाको मूल भन्सार नाका भिठ्ठामोड, सहायक नाकाहरु मटिहानी, सम्सी, खैरबन्नी, रघुनाथपुर, कट्टीकटैया, बथनाहालगायतका स्थानमा नेपाली भारु सटही काउण्टर नहुँदा होत्तरीका नाका हुँदै भारत जाने सर्वसाधारणलाई सास्ती भएको हो ।

सटही काउण्टर नहुँदा नेपालबाट भारत जाने सर्वसाधारणले जिल्लाका सीमानाकामा अवैध रुपमा भारतीय रुपैयाँ बेच्नेसँग महङ्गो दरमा भारु किन्नुपर्ने बाध्यता छ भने कुनैकुनै दिन भारतीय पैसा बेच्ने मानिस पनि नहुँदा सर्वसाधारणले आवश्यक कामकाजका लागि भारत गइरहेको यात्रा पनि ठप्प गर्नुपर्ने हुन्छ ।

महोत्तरीको भारतसँग रहेको ४५ किलोमिटर खुल्ला सिमानामा ११ वटा नाका रहेका छन् जहाँबाट दैनिक हजारौँ व्यक्ति विभिन्न कामकाजका लागि भारत जाने गर्दछन् । तर, उनीहरु भारत जाँदा सीमानाकामा १ रुपैयाँ भारतीय रुपैयाँ लिन पनि ३ देखि ५ रुपैयाँसम्म थप तिर्नुपरेको छ । नाकाहरुमा करिब डेढ दशक अगाडि नेपाल राष्ट्र बैंकको सटही काउण्टर हुने गरेको थियो भने द्वन्द्वकालको नाउँमा ती सटही काउण्टरहरु हटाइएको थियो । जुन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

यता सटही काउण्टर नहुँदा महोत्तरीका सीमानाका प्रयोग गर्दै भारतमा घुमफिर, घरायसी किनमेल, व्यापार व्यवसाय, आफन्त भेटघाट वा बिरामी भएर उपचारका लागि जानेहरुलाई भारतीय पैसाको अभावमा सास्ती बेहोर्नुपरेको छ । महोत्तरीका सीमानाकामा सटही काउण्टर नहुँदा सास्ती बेहोर्नुपरेकाहरु वर्षौदेखि यस सीमानाकामा सटही काउण्टर स्थापनाको माग गर्दै आएका छन् । तर, सम्बन्धित निकायले अहिलेसम्म पुनः स्थापना गर्न नसकेको अवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्