एपीएफलाई हराउँदै काकरभिट्टा सेमिफाइनलमा



कैलाली : काकरभिट्टा झापा फुटबल क्लव तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काकरभिट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

खेलको नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए । ४१ औं मिनेटमा झापा फुटबल क्लबका विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । विशाल राईले दिएको थ्रो पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए ।

 

खेलको तीन मिनेट समय बाँकी रहँदा काकरभिट्टाले अग्रता लियो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।काकरभिट्टाका विश्वास श्रेष्ठले म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।

 

यो जितसँगै काकरभिट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आइतबार मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लव बीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्