डा. केसीकाे स्वास्थ्य अवस्था शिथिल



इलाम : डा. गोविन्द केसीलाई नियमित औषधि खानुपर्ने गरी मुटुको समस्या छ । तर, अहिले उनी अनशनमा छन् । प्रधानमन्त्री केपी ओली मनमोहन कार्डियो अस्पतालबाट फर्किएलगत्तै ३ मंसिरमा डा. केसी सोही अस्पतालमा भर्ना भएका थिए । उनलाई अस्पताल पुर्‍याउँदा पनि थाम्नै नसक्ने पीडा थियो ।

सिसियूमा राखेर परीक्षण गरेपछि डाक्टरहरूको टिमको निष्कर्ष थियो, ‘मायोकार्डिअल ब्रिजको समस्या हो ।’ रगत बग्ने नसाहरू च्यापिएर साँघुरिँदा यस्तो समस्या हुन्छ । पटकपटक अनशन बसेको र मुटुमा दबाब पर्दा यस्तो समस्या आएको डाक्टरहरूको निष्कर्ष छ ।

उनलाई नियमित सेवन गर्ने औषधि दिएर अस्पतालबाट बिदा गरिएको थियो । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले डा. केसीको स्वास्थ्य समस्याबारे विस्तृत बताउन चाहेनन् । उनले यति मात्र भने, ‘उहाँलाई मुटुमा समस्या छ, खानापछि नियमित खानुपर्ने औषधि दिएका छौँ । उहाँले आफ्नो मुटुको धेरै ख्याल गर्नुपर्ने अवस्था छ ।’ 

शिथिल भए डा. केसी

शिक्षा तथा स्वास्थ्य संसदीय समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउँदै १६औँ पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेकोे छ । इलामको फूलगाछीस्थित एक स्थानीय नागरिकको घरमा चार दिनदेखि अनशनरत डा. केसीको शरीरमा ग्लुकोजको मात्रा कम भएको र रक्तचाप पनि असामान्य देखिएको चिकित्सकले बताएका छन् । 

‘डाक्टर सा’बको शरीरमा ग्लुकोज घटेको छ, रक्तचाप पनि सामान्य छैन,’ उनको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका डा. रामकृष्ण आचार्यले भने, ‘मौसम पनि खराब छ, भोको बसेपछि अरू समस्या देखिन्छन् ।’ 

तर, केसीले सलाइन चढाउन नमानेको उनले बताए । डा.केसी अनशन बसेको भोलिपल्टैबाट उनको जीवनरक्षा र माग सम्बोधनको आग्रह गर्दै स्थानीयले र्‍याली गर्दै आएका छन् । आजको नयाँ पत्रिका  दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्