गौ तस्करी र हत्या रोक्न माग गर्दै हिन्दू परिषदको प्रदर्शन



वीरगन्ज : हिन्दू परिषद नेपालले मुलुकमा भईरहेको गौ तस्करी र हत्या रोक्नु पर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ ।

परिषदको नेतृत्वमा निकालिएको विरोध -यालीमा जिल्लाका विभिन्न कृयाशिल हिन्दु धार्मिक संघ संगठनको अगुवाहरु समेत सहभागिता रह्यो । परिषदले मंगलबार वीरगन्जको घण्टाघरचोकबाट निकालेको विरोध प्रदर्शन माइस्थान, महावीरस्थान, अलखियामठ, घरीअर्वापोखरी हुँदै पुन घण्टाघर चोकमा आइ कोण सभामा परिणत भएको थियो ।

कोण सभालाइ सम्बोधन गर्दै हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले केहि माफिया र राजनीतिक दलको आडमा देशमा गौ तस्करी भइरहेको आरोप लगाउदै गौ तस्करी नरोकिए देश भरी नै आन्दोलन गर्ने चेतावनी दिए ।

‘वीरगन्ज क्षेत्रबाट हुने रहेको गौ तस्करी बारे पर्साका सम्पूर्ण सुरक्षा निकायका प्रमुख एवं भारतीय दूतावास वीरगन्जका जिम्मेवार ब्यक्तिलाई हामीले यसको नियन्त्रणको लागि सचेत गराइ सकेका छौँ’- उनले भने । सम्बन्धित निकायले समयमै नियन्त्रण नगरे यसको परिणाम नराम्रो हुने छ ।

भारतबाट गौ तस्करी गरि नेपालमा ल्याइ पाकिस्तान, बगलादेश र भुटान तर्फ तस्करी भइ रहे पनि नेपाल सरकार उदासिन हुनु आश्चर्यजनक भएको उनले बताए । नेपालमा गौ तस्करी हुनु आफैमा लाजमर्दो बिषय भएको बताउँदै यसले गर्दा नेपाल कै बेइज्जत हुने भएकाले पनि यसको नियन्त्रण हुन आवश्यक रहेको उनले बताए । नेपालमा गौ तस्करी र हत्या गर्ने व्यक्ति वा समूह लाई कड़ा भन्दा कडा कारवाही हुनुपर्ने माग समेत उनले गरे ।

कोणसभामा नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोत्तम दुबे, रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेन्द्र पटेल, हिन्दू स्वेमसेवक संघका कृष्णा चौरसिया लगायतकाले सम्बोधन गर्दै गौ हत्यामा संलग्न दोषी लाई कडा कारवाही गर्नु पर्ने र नेपाल बाट गौ तस्करी बन्द गर्नु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्