नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र



काठमाडौं : राष्ट्रिय परिचयपत्र नागरिकता नपाएकालाई पनि दिइने भएको छन् । नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ ।

सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको छ । नेपालको संविधानको धारा ५१ को ‘राज्यका नीतिहरु’ सम्बन्धी व्यवस्थाअन्तर्गत खण्ड ‘च’ को उपखण्ड (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने’ कुरा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुआत गरेका थिए । यही मंसिर ३ गते १ सय १ वर्षीया भगवतीदेवी भण्डारीले सर्वप्रथम उक्त परिचयपत्र पाएकी थिइन् ।

पहिलो चरणमा पाँचथर र सिंहदरबारभित्रका निमाजती कर्मचारी र सेना, प्रहरीलाई वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले बताए । विभागका निर्देशकसमेत रहेका जोशीले सिंहदरबारभित्र केही कार्यालयमा आफैं गएर औंलाको छाप लिएको र परिचयपत्र बनाउने काम भएको बताए ।

परिचय नम्बर प्राप्त व्यक्तिको मृत्यु भए वा कुनै कारणबाट त्यस्तो व्यक्तिको परिचयपत्र रद्ध भएको वा कायम नरहेको अवस्थामा परिचयपत्र नम्बर अरुलाई नदिइने व्यवस्था छ ।

परिचयपत्र पाउन योग्य भएर पनि तोकिएको समयभित्र नलिएमा बिलम्ब दस्तुर बुझाउनुपर्ने हुन्छ । ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालय पुगी विवाह, सम्बन्धविच्छेद वा बसाइँसराईको सूचना गर्नुपर्नेहुन्छ । आजकाे नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्