संघीय सरकारका कारण प्रदेशमा समस्या : मन्त्री यादव



जनकपुरधाम : प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारका कारण नै प्रदेशभित्र थुप्रै समस्या देखिएको बताएका छन् ।

 

पत्रकारितामा अवसर र चुनौती विषयक अन्तर्क्रियामा मन्त्री यादवले आइतबार भने, ‘कानुन बनाउने बेलामा संघीय सरकारले प्रदेशलाई सहयोग गर्नुपर्नेमा असहयोग गरेको छ ।’ यादवले प्रमुख जिल्ला अधिकारीलाई केन्द्र सरकारले शक्तिशाली बनाउन लागेको भन्दै आक्रोश व्यक्त गरे । 

मन्त्री यादवले अवसर भएको ठाउँमा चुनौती पनि भएको बताए । उनले भने, ‘ चुनौती कम गर्दै अवसर बढाउँदै जाने हो भने सञ्चार क्षेत्रमा राम्रो हुन्छ ।’

 

प्रदेश सरकार गठनपछि अहिले सञ्चारमा अवसर बढेको बताउँदै यादवले भने, ‘अहिले प्रदेश २ मा पत्रपत्रिकाका कार्यालय खुल्दैछन् र सञ्चारकर्मीलाई अवसर पनि बढ्दैछन् ।’ सञ्चारकर्मीका लागि प्रदेश २ मा सुविधासम्पन्न तालिम सेन्टरको व्यवस्था भए अझ गुणात्मक रुपमा निखार आउनेसमेत विश्वास उनले व्यक्त गरे ।

अहिले नीतिगत संक्रमणकालीन व्यवस्था रहेकाले चाहेर पनि सोचेअनुरूप काम गर्न नसकेको उनले बताए । ‘पत्रकारितामा महिलाको सहभागिता कम छ, भएकोलाई पनि पारिश्रमिक कम छ, चुनौती धेरै छ’, उनले भने । सञ्चारसम्बन्धी विधेयकमाथि अहिले विमर्श भइरहेको र सञ्चारकर्मीको भावनालाई ध्यानमा राखेर नै कार्य हुँदै गरेको उनले स्पष्ट पारे । 

नेपाल प्रेस काउन्सिल सदस्य नवल यादवले इलेक्ट्रोनिक मिडियाका कारण पत्रकारिताको लेखनशैली प्रभावित भएको बताए । ‘पत्रकारिता पेसामा अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा सदस्य यादवले भने, ‘अहिले कपीपेस्ट बढ़ी भएको छ, पत्रकारिताका लागि यो एउटा चुनौती नै छ ।’

नेपाल पत्रकार महासंघ प्रदेश २ समितिका महासचिव किरण कर्णलेसंघीय सरकार र प्रदेश सरकार दुवैले आमसञ्चारलाई आफूखुसी व्याख्या गर्न लागेको आरोप लगाए । उनले प्रदेश सरकारले पनि सञ्चारलाई हाथ खुट्टा बाँध्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

पत्रकार उमा सिंहको १०औं श्रद्धाञ्जलीसभाको अवसर पारेर आयोजित कार्यक्रममा क्रियाशील पत्रकार महिला धनुषाकी अध्यक्ष रिंकू मिश्र, सञ्चारकर्मी सुरेश यादव, सञ्चारकर्मी शैलेन्द्र क्रान्ति, सञ्चारकर्मी मनिका झालगायतले पनि आआफ्नो विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्