चीनले यसरी दुई दिनमै तयार पार्‍यो हजार शय्याको अस्पताल



एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त नजिकै विभिन्न कामदार र स्वयंसेवक मिलेर दुई दिनको लगातार मेहेनतपछि अस्पताल तयार भएको हो ।

कोरोना भाइरस संक्रमितको लागि तयार पारिएको उक्त अस्पताल मंगलकार बिहानबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । वुहान प्रान्तमा बनेको डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर मंगलबारदेखि सञ्चालनमा आएको हो ।

वुहान प्रान्तका अधिकारीहरुले उक्त अस्पताल निर्माणमा संलग्न सबैलाई तोकिएको समयअगावै काम सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले काम गरेका थिए ।

अस्पतालमा अत्याधुनिक उपकरणहरु जडान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ । सोमबार अस्पतालमा हजार शय्याहरु व्यवस्थापन गरिएको थियो । यससँगै सोमबार नै पानी, बिजुली र इन्टरनेट जडान गरिएको ह्वाङगाङका सरकारी अधिकारीहरुले बताएका छन् ।

मंगलबार बिहान १० बजेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीहरुलाई सारिएको छ । उक्त अस्पतालमा २ हजार ३ सयको उपचार गरिने लक्ष्य राखिएको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा १३२ जनामो मृत्यु भइसकेको छ भने विश्वभरीमा ६००० मानिसहरु यस भाइरसबाट संक्रमित बनिसकेका छन् । यो भाइरसको संक्रमण विश्वभरी नै फैलिसकेको छ ।

पछिल्लो पटक युएईमा पनि यो भाइरसको संक्रमण भेटिएको छ । चीनबाट फर्किएको एउटा परिवारमा भाइरसको संक्रमण भेटिएको हो । त्यसैगरी, जर्मनीमा पनि चार जनामा यो भाइरसको संक्रमण भेटिएको छ ।

चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्