संस्थानले किन्यो एक करोडको धान



वीरगन्ज : नेपाल खाद्य संस्थानको वीरगन्जस्थित कार्यालयले एक करोड १३ लाख ७७ हजार ४ सय रुपैयाँको चार हजार ६ सय २४ दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । 

सरकारले प्रतिक्विन्टल दुई हजार ४ सय ६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३ सयदेखि ४ सय क्विन्टल धान खरिद गर्दै आएको छ । चालु आर्थिक वर्षमा १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्य लिएकामा संस्थानले हालसम्म ३३ प्रतिशत किनिसकेको शाखा प्रमुख अम्बिकाप्रसाद घिमिरेले बताए ।

 

निजी क्षेत्रका व्यापारीले प्रतिक्विन्टल दुई हजार ५ सयमा धान खरिद गर्दै आएका छन् । निजी क्षेत्रका गल्ला व्यापारी उधारोमा धान खरिद गर्ने गरेको भए पनि संस्थानले नगदमा धान खरिद गर्दा कतिपयले संस्थानलाई नै बेच्दै आइरहेका छन् । 

 

संस्थानसँग जापान सरकारले दुर्गम क्षेत्रका लागि अनुदानमा दिएको जापानी चामल दुई हजार ४ सय क्विन्टल, जिरा मन्सुली छ हजार क्विन्टल र सोना मन्सुली एक हजार क्विन्टल मौज्दात छ । संस्थानसँग ६० हजार क्विन्टल क्षमताका छ गोदाम छन् । संस्थानले उत्पादन गर्ने चामल पर्सा, रौतहट, मकवानपुर र भरतपुर कारागारलाई समेत बेच्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्