सरस्वती पूजा नै हो र ? मूर्तीको मान कि अपमान…!



जनकपुरधाम : मानव जीवनलाई पूर्णता दिनका लागि उसको जिवनमा तिनवटा चिज महत्वपूर्ण हुन्छ । त्यो हो, ‘धन,विद्या र शक्ति ।’ भनिन्छ यिनै तिन चिजहरुले नै मनुष्यको जीवनशैलीलाई सफल बनाउँछ ।

हामी आफ्ना परिवारका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरआरम्भ गराउछौँ । माता सरस्वती संगीत, कला, साहित्य एवं विद्याकी देवी हुन् भनेर आफ्ना सन्तानलाई सिकाउछौँ अर्थात कुनैपनि बालकलाई जीवन सफल बनाउन सानैदेखी उसलाई उसको अभिभावकले शिक्षा सबैभन्दा ठूलो माध्यम हो भनेर सिकाउछन् । हामी आफ्नो परिवारका ससाना बालबालिकाहरुलाई सरस्वती पूजाका दिन माता सरस्वतीको श्रद्धाभक्तिले पूजापाठ गर्दा विद्या, बुद्धि र विवेक प्राप्त हुन्छ भन्ने पाठ सिकाउछौँ र त्यसैअनुरुप हाम्रा सन्तान पनि सरस्वती पूजनको दिनभन्दा करिव एकहप्ता अगाडी देखि नै खुबै व्यस्त हुन्छन् । मूर्तीकारहरुलाई पनि महिनौं अगाडीदेखि नै सरस्वतीको मूर्ती बनाउन भ्याई नभ्याई हुन्छ ।

अहिले त्यहि समय चलिरहेको छ, अर्थात विद्यार्थीहरु सरस्वती पूजामा व्यस्त छन् । जनकपुरका दर्जनौं ठाउँहरुमा मूर्तीकारहरु पनि मूर्ती बनाउनमा व्यस्त देखिए । तर, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ रामानन्दचोकस्थित रामजानकी पिक्चर प्यालेशको ठ्याक्कै अगाडी एउटा असहय दृश्य देखियो । हेर्नेवित्तिकै सोच्न बाध्य बनायो यस दृश्यले । के हो यो ? भगवानको मूर्तीको यस्तो दशा ? मनभित्र अनेकौँ प्रश्न उब्जियो !

हाम्रा ससाना भाईबहिनीहरु साँच्चै पूजा गर्नका लागि नै तम्तयार होला नि है ? मूर्तीकारहरु पनि श्रद्धाले नै सरस्वतीको प्रतिमा बनाएका होलान कि कसो ? वा उनीहरुका लागि पैसा कमाउने माध्यम मात्रै होला ?

यस तस्वीरमा के देख्नुभयो ? सोच्नुस् त आफैभित्र ! सरस्वतीको माटोको निर्मित प्रतिमा त हो नि है ? सामान्य कुरा त होला । प्रतिमा राखिएको दुबै छेउमा फोहोर पानी बग्ने नाला, त्यो कुरापनि सामान्य नै हुनसक्छ है ?

एकातर्फ हामी आफ्नो सन्ततीलाई सरस्वतीको पूजा गर्नाले ज्ञान, बुद्धि र विवेक बढ्छ भनिरहेका छौँ, अर्कोतर्फ हामी स्वयं कति भौतिकवादी है ?

एकपटक सोचौँ त, ‘के यस प्रकारको पूजाले भगवान खुसी हुनुहोला त ? विचरा भगवान..!

हाम्रो ताल, तमासा देखेर मुसुमुसु हाँसी रहनुभएको होला ? कणकणमा भगवान भन्दाभन्दै भगवान बस्ने लायक सफासुग्घर ठाउँको पनि अभाव ? सबै भित्रै भगवान हुनुहुन्छ भन्दाभन्दै पनि, खोई त देखेको भगवान हाम्रो आत्मामा ?

मान्छे त बस भगवानलाई लड्डु चढाएर खुसी पार्दै, ‘हे प्रभु मेरो सबै मनोकाङ्क्षा पूरा गरिदिनु होला भन्नेतिर मात्रै मस्त छन् ।’

मान्छेले भगवानलाई पनि आफूज़स्तै ठानेको छ । हामीले प्रसाद चढायौं भने भगवान दङ्ग भइहाल्नुहुन्छ र श्रीमान् ?

हामीमा लोभ छ, अहम छ र पाएर दङ्ग हुन्छौँ । तर, ईश्वरले हामीलाई दिनुभएको ज्ञान पाएर हामीले त्यसको सही सदुपयोग गर्न सिक्यौँ भने पो दङ्ग हुनसक्नुहुन्छ नि महोदय । मनुष्यका लागि भौतिक सुख सुविधा नै सर्वोपरि हो भन्ने भ्रम परित्याग गरौं ।

प्रतिक्रिया दिनुहोस्