वाइडबडी खरिदमा देउवाको संलग्नताबारे सांसदको चासो



काठमाडाैं : वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत संलग्नताबारे सत्यतथ्य जानकारी दिन सत्तारुढ दलका सांसदले माग गरेका छन् ।

विमान खरिदमा देउवाको नाम जोडिएकाले संसद्मा वास्तविकता आउनुपर्ने भन्दै सत्तारुढ सांसदहरूले प्रतिनिधिसभाको आइतबारको बैठकमा यस्तो माग गरेका हुन् । नेकपा सांसद यज्ञराज सुनुवारले वाइडबडी खरिदमा कांग्रेस सभापति देउवाको नाम जोडिएकोबारे सदनले जानकारी पाउनुपर्ने बताए ।

२४ जेठ ०७४ मा प्रधानमन्त्री भएलगत्तै केही दिनमा देउवाले वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिस गरेको र सो वेला पर्यटन मन्त्रालयसमेत देउवाकै नेतृत्वमा रहेकाले सांसदहरूले यसबारे चासो व्यक्त गरेका हुन् ।

यस्तै, नेकपाका सांसद योगेश भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका सबैमाथि छानबिन हुनुपर्ने माग गरे । ‘छानबिनबारे कुनै पूर्वाग्रह राख्न हुन्न । सरकारले छानबिन आयोग नै गठन गरेकाले सत्यतथ्य बाहिर आउनेछ,’ उनले भने । 

संसद्को सार्वजनिक लेखा समितिले २ वटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो । जसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत नैतिक रूपमा जिम्मेवार रहेको र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही गर्नुपर्ने निर्णय गरेको थियो ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल वायुसेवा निगम, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई समितिको प्रतिवेदन तथा निर्णय निर्देशनबारे पत्राचार गरिसकेको छ ।

समिति सचिव एवं सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले समितिको निर्णय निर्देशनबारे सम्बन्धित निकायमा परिपत्र गरिसकिएको बताए । ‘हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, वायुसेवा निगम, नागरिक लगानी कोष, सञ्चयकोषमा समितिको निर्देशनबारे पत्र पठाएका छौँ,’ प्रवक्ता पाण्डेले भने । 

संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले भने पारित भइसकेको प्रतिवेदन समितिले अख्तियारमा बुझाउन आलटाल गरेको आरोप लगाए । तर, सचिवालयले समितिको निर्देशन सम्बन्धित निकायमा दुई दिनअघि नै पठाइसकेको जनाएको छ । आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्