सचिव कुटपिट प्रकरण : सभामुख यादव पदीय मर्यादा लत्याउँदै किन पुगे मन्त्रीको कार्यकक्षमा ?



जनकपुरधाम : आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विषयले अहिले प्रदेश दुई तातिएको छ । 

आइतबार फाइल लिएर कार्यकक्षमा आएका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै मन्त्री यादवले थप्पड हानेका थिए । 

प्रदेश २ का सभामुख सरोजकुमार यादव घटनाका प्रत्यक्षदर्शी हुन् । सचिव झालाई थप्पड हानेको समयमा उनी मन्त्रीको कार्यकक्षमै उपस्थित थिए । 

तर, मर्यादाक्रमलाई लत्याउँदै सभामुख यादव मन्त्रीको कार्यकक्षमा कसरी पुगे त ? यो प्रश्नको जवाफ अहिले सर्वत्र चासोको विषय बनेको छ । 

सामान्यतया मन्त्री र सभामुखको भेटघाट सभामुखकै कार्यकक्षमा हुने चलन छ । सरकारले भर्खरै राजपत्रमा प्रकाशित गरेर लागु गरेको मर्यादाक्रममा पनि प्रदेश सभाका सभामुखलाई आठौँमा राखिएको छ भने प्रदेश सरकारका मन्त्री नवौँ नम्बरमा पर्दछन् ।

यस्तो छ मर्यादाक्रम

यस्तोमा सभामुख पदीय मर्यादा बिर्सिएर मन्त्रीको कार्यकक्षमा जानुलाई सर्वसाधारणले शंकाको दृष्टिले हेरिरहेका छन् । स्रोतका अनुसार सभामुख यादव पनि पहिले एनजिओ संकालक थिए र सो एनजिओ अहिले उनको नजिकका व्यक्तिले सञ्चालन गरिरहेका छन् । 

उनले सो एनजिआलाई योजना पार्न मन्त्रीको कार्यकक्षमा गएको स्रोतको अनुमान छ ।  

हिजो भएको कुटपिट योजनामा मन्त्रीले भनेको एनजिओलाई छनोट नगरेको कारण भएको सचिव झाको दाबी छ । 

सङ्घीय सरकारको सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका थिए ।  

सचिव कुटपिट घटनाको चौतर्फी आलोचना भइरहेको छ । प्रदेश २ सरकारले सचिव कुटिएको विषयमा छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । 

मन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्