पानको थुकले रंगिएको जनकपुर अस्पताल



जनकपुरधाम : सरकारी कार्यालय एवं स्वास्थ्य संस्थाहरुको भित्तामा लेखिएको हुन्छ, ‘यहाँ पान, गुटखा सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।’ तर, पनि सरकारी कार्यालय एवं स्वास्थ्य संस्थाहरुको मुल गेटदेखि कार्यालयका हरेक ठाउँमा पान, गुटखाहरु पिच्च पिच्च थुकिएको र सुकेर टाटेपाटे भएको देखिन्छ ।

सरकारी कार्यालय एवं स्वास्थ्य संस्थाका अधिकांश कर्मचारीले यस्ता आदेशलाई पालना गरेको पाइँदैन ।

स्वच्छता सन्देशहरुमाथि नै पान गुटखाको खाएर पिच्च थुकेर यस्ता अभियानलाई मजाक बनाइरहेको देखिन्छ । सरकारी कार्यालयका अधिकांश कर्मचारीहरु समेत धुम्रपान गर्नबाट वञ्चित छैनन् ।

एकातर्फ प्रदेशका मुख्यमन्त्री, मन्त्री लगायत दर्जनौं सरसफाई अभियानीहरुले समय समयमा विभिन्न सार्वजनिक स्थानहरुमा वृहत्त सरसफाई गरी स्वच्छताको सन्देश प्रवाह गरिरहेका छन् भने अर्कोतर्फ सरकारी कार्यालय र अस्पतालका भित्ताहरु पान र गुटखाले रंगिएका छन् ।

यसको प्रत्यक्ष उदाहरण हो, ‘जनकपुरधामस्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवनको इमरजेन्सी वार्डको शौचालय ।’

शनिबार अस्पतालको इमरजेन्सी वार्डको शौचालयमा पुग्दा दुर्गन्ध नै दुर्गन्ध थियो । बेसन नयाँ थियो । तर, त्यसमा पान र गुटखाको थुकले त्यसको प्वाल नै बन्द भएको देखिन्छ ।

बेसिनमाथिको धारा भाँचिएको थियो । न त धारामा पानी थियो न त ढोकामा चुक्कुल । थियो त केवल भित्ताहरुमा जत्तातत्तै पान र गुटखाको बुट्टा । शौचालयको चारै कुना हेर्दै घिन लाग्दो ।
स्थानीय गुड्डु पाण्डेले भन्छन्–‘लाज नभएका वेशरम व्यक्तिहरुको हर्कत नै हुनुपर्छ भन्ने कुरामा त कुनै दुईमत छैन । अस्पताल परिसर भित्र गुटखा सेवनलाई प्रतिबन्ध लगाउनुको साथै सेवनकर्तालाई जरिवानाको व्यवस्था गर्नुपर्छ ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसँग आफ्नो कर्तव्यको पालना गर्न समेत उनले आग्रह गरे ।

रेल्वे स्टेशनस्थित प्रवेशद्वारमै लेखिएको छ, ‘प्लेटफर्म हाताभित्र गुटखा र पान खाएर थुक्न सक्त मनाही छ । थुकेको पाइएमा मानून बमोजिम आवश्यक कारवाही गरिने छ ।’ तर, दुर्भाग्य त्यहाँको अवस्था पनि उस्तै । यहाँ त सन्देशमाथि नै गुटखाको थुक ।

प्रतिक्रिया दिनुहोस्