यो सरकार पाँच वर्ष टिक्न गाह्रो छ : कांग्रेस डा. नेता महत



जनकपुरधाम : कांग्रेस नेता डा. रामशरण महतले यस्तै रबैया देखाइरहे यो सरकार पाँच वर्षसम्म टिक्न नसक्ने बताएका छन् ।

 

वर्तमान सरकारले सस्तो लोकप्रियता खोजेको आरोप लगाउँदै उनले शनिबार  कांग्रेस धनुषा पार्टी कार्यालयमा पत्रकारहरुसँग यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘कांग्रेसले मुलुक र जनताका लागि अन्य राजनीतिक दलको तुलनामा राम्रो काम गरेको भए पनि त्यसलाई जनतामाझ बुझाउन नसक्दा निर्वाचनमा अनपेक्षाकृत हार बेहोर्न बाध्य भएको हो ।' 

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले आन्तरिक आरोप प्रत्यारोपभन्दा पनि संगठन निर्माणमा लाग्ने बेला आएको बताए । कांग्रेस अब पार्टी सुदुढीकरणका साथै लोकतन्त्रमाथि विश्वास गर्ने वर्गलाई विश्वस्त तुल्याएर अघि बढ्नेछ’, उनले भने, ‘कांग्रेसले आफूले गरेका काम र योगदानबारे मात्र राम्रोसँग विज्ञापन गरे पुग्छ, बढाइचढाइ गर्न आवश्यक छैन ।

डा. महतले सरकारले आधारबिनै बजेटमा कार्यक्रम धेरै ल्याएको भन्दै यो बजेटले  पार्टी र कार्यकर्ता मात्रै पोस्ने भएको बताए । 

 

महँगी, करको दायरा, बेथिति बढेको भन्दै डा. महतले यो सरकारले यसलाई नियन्त्रण गर्नेतर्फ भन्दा पनि सरकारका मन्त्रीहरु कमाउ ध्यानपट्टि लागेका उनले आरोप लगाए ।

 

साथै उनले देशमा अराजकता सिर्जना भएको बताए । जनताको पक्षमा वर्तमान सरकारले कुनै पनि काम नगरेको भन्दै उनले निर्वाचनका बेलामा जारी भएको घोषणापत्र पल्टाएर हेर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्