मन्त्रीबाट सचिव कुटपिट घटनामा छानबिन थालियो



जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनामा छानबिन सुरु भएको छ । घटनाबारे अनुसन्धानका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव संयोजकत्वमा आइतबार गठित टोलीले सोमबार छानबिन सुरु गरेको हो ।

 

टोलीको बैठक बसेर दुवै पक्ष र घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग बुझ्ने काम सुरु गरेको टोलीको सदस्यसमेत रहका प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले बताए । उनका अनुसार घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन तयार गरेर बुझाइनेछ ।

 

तीन सदस्यीय छानबिन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्यसचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाल छन् ।

 

आफूले भनेअनुकूलको एनजिओमा कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले आइतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाई कुटपिट गरेका थिए । उनले प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने हात र लात्ताले आफूलाई कुटपिट गरेको सचिव झाले बताएका छन् । 

 

झा अस्पताल भर्ना

यसैबीच मन्त्रीबाट कुटिएका झा सोमबार अस्पताल भर्ना भएका छन् । सचिव झाले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि केयर मेडिकल हलमा भर्ना भएको द नेपालटपलाई बताए । सोमबार झा कार्यालयमा हाजिर नभएको उनी कार्यरत मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्