प्रादेशिक अस्पतालको नामाकरण डाक्टर झाको नामले गर्नुपर्छ : उपसभापति निधि



जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रादेशिक अस्पताल जनकपुरधामको नाम डा. लक्ष्मीनारायण प्रादेशिक अस्पताल राख्नुपर्नेमा जोड दिएका छन् ।

गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका महान सपूत डा.लक्ष्मी नारायण झाको ७० औं जन्मजयन्तीको अवसरमा डा.लक्ष्मी नारायण झा प्रतिष्ठानले उनको पैत्रिक गाउँ धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित देबडिहामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपसभापति निधिले शहिदहरूको खोजी गरि कृति प्रकाशन गर्नुपर्ने र त्यस कार्यमा आफ्नो पनि सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका अध्यक्ष डा।रूद्रनारायण झाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले डा.लक्ष्मी नारायण झालाई गणतन्त्रको महान सपूतको संज्ञा दिएका छन् ।

उनले भने, ‘वर्तमान ओली नेतृत्वको सरकारले संघियतालाई त रुचाएकै छैन् । गणतन्त्र माथि पनि विश्वास छ जस्तो लाग्दैन् । मिथिला राज्यको सपना देखेका झाको अवधारणा साकार हुनुपर्दछ, यो प्रदेशको नाम पनि मिथिला–भोजपुरा प्रदेश हुनुपर्दछ ।’ उनले भने ।

कार्यक्रममा उनले डा।झासँगको सम्बन्ध र सहकार्यबारे समेत स्मरण गरेका थिए । नेता निधिले डा।झालाई शहिद घोषणा गराउन आफुले पहल गरेपनि सरकारसँग त्यसबारे कुनै आधिकारीक दस्तावेज उपलब्ध नरहेकोले समस्या भएको दुःखेसो पोखे ।

झालाई राज्यले पक्राउ गरेर हालसम्म वेपत्ता बनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरी,प्रदेशसभा सदस्य प्रमिला देवी दास,नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव,धनौजी गाउँपालिकाका अध्यक्ष बद्रि सिंह,नेपाल काँग्रेस जनकपुरका नगरसभापति मनोज साह लगायतकाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निधिले डा.लक्ष्मी नारायण झाका समकक्षीहरुलाई सम्मान गरेका थिए भने प्रतिष्ठानले पनि उपसभापति निधिलाई सम्मान गरेको थियो ।

सोहि अवसरमा प्रतिष्ठानले नगराईन नगरपालिकाको महरा टोलमा भाँडावर्तन पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्