डा. केसीको स्वास्थ्य अवस्था नाजुक



इलाम: १६ औँ अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक रहेको चिकित्सकले बताएका छन् । इलाम अस्पतालमा सोमबार बिहान सारिएका केसीको स्वास्थ्य स्थिति जानकारी गराउँदै मेडिकल सुपरिटेन्डेन्ट बिजेन्द्रकृष्ण शाहले तत्काल उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने अवस्था रहेको बताए ।

डा. केसीले भने स्वास्थ्य स्थिति जे भए पनि आफू इलाममा नै बस्ने अडान लिएका छन्। स्वास्थ्यमा अप्ठेरो स्थिति आए पनि इलाम छाडेर नजाने र १५ औँ सत्याग्रहका क्रममा भएका सम्झौता पालना हुनु पर्ने अडानमा केसी छन्।

उपचारमा संलग्न इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिजेन्द्र कृष्ण शाहका अनुसार केसीको घाँटीमा समस्या छ भने फोक्सोमा इन्फेक्सन र रोग प्रतिरोधात्मक शक्ति कम भएको छ। उनलाई तत्काल आइसियुमा राखेर एक्सपर्ट मेनेज्मेन्टको व्यवस्था हुनु पर्ने शाहले बताए। ‘तत्कालका लागि प्राथमिक उपचारको व्यवस्था गरेका छौँ,’ उनले भने ‘अवस्था जटिल भए केही गर्न सकिन्न।’

अस्वभाविकरुपमा मुटुको धड्कन बढ्नुका साथै निमोनिया पनि देखिएपछि उनलाई सोमवार बिहान इलाम अस्पताल भर्ना गरिएको कान्तिपुरमा खवर छ।

प्रतिक्रिया दिनुहोस्