सरकारी चिकित्सक संघको आन्दोलन फिर्ता



काठमाडौं : आन्दोलनरत सरकारी चिकित्सक संघ(गोदान)ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्ता टोलीले गोदानले राखेका आठबुँदे माग पूरा गर्ने सहमति गरेपछि आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता भएका छन्। सदनबाट पारित कर्मचारी समायोजन ऐनका स्वास्थ्य सेवा सम्बन्धित केही प्रावधान सच्याउनुपर्ने लगायतका माग राखी गोदान एकहप्तादेखि आन्दोलनमा उत्रेको थियो।

मन्त्रालयद्वारा गठित वार्ता टोली र गोदानका पदाधिकारीका बीचमा आज भएको सहमतिमा कर्मचारी समायोजन गर्दा हाल संघीय लोकसेवा आयोगबाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सक लगायतका अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गर्नेगरी आवश्यक व्यवस्था गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने रहेको छ।

मन्त्रालयको साङ्गठनिक संरचना तयार गर्दा स्वास्थ्य सेवातर्फका व्यवस्थापकीय पद ११औँ तह वा सोभन्दा माथि छुट्टै समूह नराख्ने गरी कानून निर्माण गर्न पहल गर्ने, स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयको सचिव हुनसक्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११औँ तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने सहमति भएको छ।

सहमतिमा मन्त्रालयका तर्फबाट वार्ता टोलीका संयोजक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, सहसचिव जनार्दन गुरागाई, जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ तथा गोदानका तर्फबाट चिकित्सक रुद्र मरासिनी, दीपेन्द्र पाण्डे, रवी खड्का, सन्तोष पौडेल, कीर्तिपाल सुवेदी र निरज अर्यालले हस्ताक्षर गर्नुभएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्