अकासिँदै सुन, तोलाको भाउ पुग्यो ६१ हजार



काठमाडौं : सुनको भाउ लगातार बढिरहेको छ । मंगलबार तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । यो भाउ पाँच वर्षयताकै उच्च हो । पाँच वर्षअघि नेपालमा सुनको भाउ तोलाको ६२ हजार ५ सयसम्म पुगेको थियो । सोमबारको तुलनामा मंगलबार सुनको भाउमा तोलामा चार सय रुपैयाँ बढेको छ ।

अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायतका कारण सुनको भाउ उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले बताए ।

अमेरिका र चीनबीच जारी व्यापार युद्ध तथा चीन र उत्तर कोरियाबीचको पछिल्लो समझदारीले पनि सुनको मूल्य बढाउन भूमिका निर्वाह गरेको उनको विश्लेषण छ । उनका अनुसार भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको छ ।

हाल मुलुकमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्