एन्फामा भएकाे ‘अनियमितता’ माथि अख्तियारकाे छानबिन सुरु



काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएकाे भनिएकाे अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले एन्फामा अनियमितता भएकाे भन्दै उजुरी दिएका थिए ।

आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन सुरु गरेको जानकारी दिए ।उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उनले युवा तथा खेलकुद मन्त्रालयमा छानबिन गर्न पत्र पठाइएको जानकारी दिए । 

हामी छानबिनको प्रारम्भिक चरणमा छौं । अहिले नै भ्रष्टाचार भयो भनेर भन्न मिल्दैन, छानबिनपछि सबै कुरा बाहिर आउँछ- प्रवक्ता कोइरालाले भने। 

गत वैशाखमा एन्फाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनका क्रममा आर्थिक अनियमितता भएको लगायतका आरोप लगाउँदै आएका चार जिल्ला फुटबल सङ्घले केही दिनअघि अख्तियारमा उजुरी दिएका थिए । उजुरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ । 

गत पुस १७ गते फुटबल सङ्घ काठमाडौंका अध्यक्ष विराटजङ्ग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए । 

यसैबीच एन्फाले वर्तमान नेतृत्वमाथि शृङ्खलाबद्ध आरोपहरू आउन थालेकामा चिन्ता व्यक्त गर्दै आरोप पुष्टि गर्न चेतावनी दिएको छ । एन्फा प्रवक्ता किरण राईले भने- आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित भए कारबाही भोग्न तयार छौं अन्यथा जिल्ला फुटबल सङ्घहरूमाथि नै कारबाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस्