उपत्यकाको वायु प्रदूषण अत्यधिक



काठमाडौंः उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारबाट उच्च हुँदै गएको छ । रत्नपार्कको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार बिहान २ः४५ मा कणको मात्रा अर्थात् पार्टीकुलेट म्याटर्स (पीएम) २ दशमलव ५ को दरले १४५ पुगेको थियो ।

विश्व स्वास्थ्य संगठनले पीएम २ दशमलव ५ को मात्रा १० माइक्रोग्राम क्युबिक मिटर निर्धारण गरे पनि सरकारले राष्ट्रिय मापदण्ड ४० निर्धारण गरेको छ । ‘काठमाडौं उपत्यकाको प्रदूषणको मुख्य कारणका रूपमा सवारी प्रदूषण नै रहेको पाइएको छ,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘२० प्रतिशत गाडीले ५० प्रतिशत धुवाँ फालिरहेका हुन्छन्, त्यसमा पनि २० प्रतिशतले सबैभन्दा बढी धुवाँ फालिरहेको छ ।’

सन् २००५ मा ट्राफिक प्रहरीको सहायतामा धुवाँ फालिरहेको सवारीसाधनलाई रोकेर परीक्षण गरिएको थियो । त्यो काम रोकिँदा प्रदूषण बढ्दो क्रममा रहेको छ । ‘सडकमा कुँदिरहेका सवारीसाधनले फालेको धुवाँ हेर्दै थाहा हुन्छ, चेकजाँच नै गरिरहनुपर्दैन,’ उनले भने, ‘यस्ता सवारीसाधनलाई हटाउने तथा थोत्रा सवारीसाधनको मर्मतसम्भार गर्न सकियो भने पनि ५० प्रतिशत सुधार आउँछ र यो गर्न पनि सकिन्छ ।’

राष्ट्रिय वायु प्रदूषण रणनीति निर्माण कार्यमा संलग्न विज्ञ डा. भुपेन्द्र देवकोटाका अनुसार उपत्यकाको बढ्दो प्रदूषणले थप समस्या उत्पन्न भएका छन् । ‘काठमाडौं प्राकृतिक रूपले नै संवेदनशील छ र अब मानवीय कारणले यो झन् संवेदनशील बन्न पुगेको छ,’ देवकोटाले भने ।

हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेक कण हुन्छन् । तीमध्ये केही हानिकारक र केही असर नगर्ने किसिमका हुन्छन् । हावामा यसरी हानिकारक धुलोका कणको मिसावट भई हुने वायु प्रदूषणबाट काठमाडौंै अछुतो छैन । उपत्यकाको दुई स्थानमा गरिएको वायु प्रदूषण मापनले पनि उपत्यकामा अत्यधिक प्रदूषणको मात्रा बढेको पाइएको छ ।

‘काठमाडौंमा गरिएका अध्ययन मनन गर्दा यहाँ विशेषगरी रासायनिक वा अन्य किसिमका प्रदूषणभन्दा पनि सडक, सवारी र कलकारखानाबाट निस्कने धुवाँ र धुलोको समस्या टड्कारो देखिन्छ,’ देवकोटाले भने, ‘एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । यसबाट अनुमान गर्न सकिन्छ, बाँच्नका लागि हावा कति आवश्यक छ ?’

उपत्यकामा वायु प्रदूषण गराउने प्रमुख स्रोतका रूपमा रहेको सवारीसाधन हरेक वर्ष १३ प्रतिशतले बढेको छ । सन् २००५ मा गरिएको अध्ययनले उपत्यकामा भएका सवारीको २० प्रतिशत सवारीले ५० प्रतिशत प्रदूषण फैलाउने गरेको पाइएको वातावरणविद् तुलाधरले जानकारी दिए । यसबीच सवारीसाधनको संख्या लगभग तीन गुण वृद्धि भइसकेको यातायात विभागको तथ्यांकले देखाएको छ भने सडकको अवस्था झनै बिग्रँदो छ ।

वायु प्रदूषणको नियन्त्रण गर्न सकिने भन्दै त्यसका लागि सरकारले भएका नीति नियमलाई कडा रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञहरूको सुझाव छ । उनीहरूले प्रदूषण मापन यन्त्रको संख्या वृद्धि गर्नुपर्ने बताए । यस्तै, सवारीसाधनको प्रदूषण मापन गरी दिइने हरियो स्टिकरको नियमित अनुगमन गर्नुपर्दछ ।

प्रदूषण नियन्त्रणसम्बन्धी भएका नीति नियमका साथै प्रदूषण मापदण्डको कडाइसाथ कार्यान्वयन गर्ने, सार्वजनिक यातायातको गुणस्तर सुधारका साथै सडक विस्तारका क्रममा साइकल र हिँड्नका लागि सुविधायुक्त पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरूको सुझाव छ । सहरी क्षेत्रमा स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि सोलार साथै अन्य नवीकरणीय ऊर्जा प्रयोगमा प्रोत्साहन गर्न पनि विज्ञहरूको सुझाव छ ।

सहरी क्षेत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापन सुधार गर्ने, यस विषयमा अध्ययन र अनुसन्धान प्रवद्र्धन गर्न विश्वविद्यालय एवं संघसंस्थासँग समन्वयमा कार्यक्रम तयार गर्न विज्ञहरूले सरकारलाई सुझाएका छन् । प्रदूषण नियन्त्रण शुल्कबाट संकलित करिब साढे ५ अर्ब रुपैयाँ प्रयोगमा आउन नसकेको प्रदूषण नियन्त्रण कोषलाई सञ्चालनमा ल्याउन कार्यक्रम बनाउनुपर्ने उनीहरूको सुझाव छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्