बिषादीयुक्त तरकारी निरुत्साहित गर्न एक वडा एक प्राविधिक परिचालन



पाल्पा : बिषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरेको छ ।

नगरका दशवटै वडामा एक वडा एक प्राविधिक छनौट गरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ । बाहिरबाट बिषादी प्रयोग भएका तरकारीले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनलाई बढावा दिन रामपुर नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम पनि सञ्चालन गरेको छ ।

नगरको एक वडा एक उत्पादन कार्यक्रम सहज र प्रभावकारी बनाउन वडा वडामा प्राविधिक परिचालन गरिएको हो । कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

विशेष गरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बालीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।
सो कार्यक्रम अन्तर्गत वडा नं.१ मा कागति, वडा नं. २ मा मौरी, खुर्सानी, गोलभेँडा, वडा नं. ३ मा अदुवा, एभोकाडो, आलु, वडा नं ४ मा काक्रो, बन्दा तथा वडा नं ५ मा गोलभेँडा र केराका लागि छनोट गरिएको छ ।

त्यस्तै वडा नं ६ मा आलु, मौरी र केरा, वडा नं. ७ मा घिरौला, करेला, कागती, वडा नं ८ मा सिमी र सुन्तला, वडा नं ९ मा कफी, अदुवा र वडा नं.१० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनका लागि छनौट गरिएको छ ।

नगरले पकेटक्षेत्र निर्धारण गरेका वडामा एक वडा एक उत्पादन कार्यक्रम शुरु भएका छन् । कृषकलाई विभिन्न जातका तरकारीका बिरुवा वितरण, तालिम, कृषि सामग्री सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको नगरप्रमुख रमणबहादुर थापाले बताए । उनले भने, “मानवलाई स्वस्थ बनाउन, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बाहिरबाट रामपुर बजारमा भित्र्ने बिषादी प्रयोग भएका तरकारी निरुत्साहित अभियान सफल बनाउन एक वडा एक प्राविधिक परिचालन शुरु गरेका छौँ ।”

अहिले वडा कार्यालयले तरकारीका बीउविजन वितरण गर्ने, कृषि सामग्री वितरण तथा कृषकलाई तरकारी लगाउने नयाँ प्रविधिसम्बन्धी तालिम, गोष्ठी जस्ता कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
एक वडा एक प्राविधिक कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाको वडा नं.१ मा लुना अर्याल, २ मा क्षितिज बिक्रम खाँण, ३ मा सुरक्षा ढकाल, ४ मा युवराज नेपाली, ५ मा सुनिता बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै वडा नं.६ मा सिमा खनाल पाठक, ७ मा चन्द्रकला अर्याल, ८ मा सुजता अधिकारी, ९ मा रोशन जिसी, १० मा दीपेन्द्र तिमिल्सिनालाई खटाइएको छ । २ दिन कृषि शाखा रामपुरले क्षमता अभिवृद्धि तालिम दिएर सम्बन्धित वडा कार्यालयमा एक वडा एक प्राविधिक कर्मचारी खटाइएको कृषि शाखा प्रमुख तथा नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले बताए ।

व्यवसाय दर्ता तथा निरीक्षण, पसल, उद्योग, कृषि, पशुपक्षी तथा उद्योग निरीक्षण गर्ने, नगरपालिकामा दर्ता भएको नभएको, नवीकरण भए नभएको लगायतका विवरण संकलन गर्ने गरी उनीहरुलाई जिम्मेवारी दिइएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।

एक वडा एक प्राविधिकले कृषि र पशुपंक्षी प्राविधिक सहयोग, नगरपालिका तथा वडाको काममा सहजिकरण गर्ने छन् । आर्थिक विकास परियोजना अन्र्तगत एक वडा एक प्राविधिक कर्मचारी छनौट गरी नगरपालिकाले परिचालन गरेको हो । मौसमी समयमा प्रयाप्त तरकारी उत्पादन भए पनि बेमौसमी उत्पादन भने कमै मात्रामा हुन्छ ।

विशेषगरी आलु, लहरेबाली, बन्दा, काउलीलगायत तरकारी उत्पादन हुने गर्छन् । ६० प्रतिशत बाहिरी बजारबाट, २० प्रतिशत छिमेकी निस्दी गाउँपालिका र २० प्रतिशत रामपुरमा उत्पादित तरकारी बजारमा खपत हुने गरेको छ ।

बुटवललगायत बाहिरी बजारबाट हप्तामा २० देखि ४० टनसम्म तरकारी रामपुर बजारमा भित्रने गरेको कृषि शाखा कार्यालयले जनाएको छ । लागत र परिश्रम अनुसार मौसमी समयमा तरकारीले बजार मूल्य नपाउँदा कृषकले खेतबारीमै कुहाएर फाल्ने गरेको पाइएको छ ।

नगरपालिकाले त्यहाँ उत्पादन नहुने कृषि उपजबाहेक अरु उत्पादनलाई निरुत्साहित गर्ने भएको हो । कच्चा सामग्री भएकाले लामो समयसम्म टिकाउन नसक्दा कृषकले नोक्सान व्यहोर्नुपरेको छ ।

बाहिरी बजारबाट भित्रने तरकारी निरुत्साहित भएको खण्डमा स्थानीय उत्पादनले बजार पाउनेछ । यो कार्यक्रम अन्तर्गत प्राविधिक सेवा सहज रुपमा पाउन थालेपछि किसानहरु खुशी भएको स्थानीय कृषक गौतमबहादुर सुनारले बताए । नगरपालिकाले गत पुस १ गतेबाट बाहिरबाट आयातित तरकारी निरुत्साहित अभियान कार्यक्रम शुरु गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्