सरकारको आँखा नपुगेको मदरसा



जनकपुरधाम : जनकपुरधाम धार्मिक आस्थाको केन्द्र रहेको कुरा सर्वविदित छ । यहाँ धार्मिक सहिष्णुताको अदभूत दृष्यहरु हेर्न पाइन्छ । एकातर्फ विश्व प्रसिद्ध जानकी मन्दिरमा प्रार्थनाका स्वरहरु गुञ्जिरहेका हुन्छन् भने अर्कोतर्फ जानकी मन्दिर पछाडी अवस्थित मस्जिदमा नमाजका स्वरहरु समेत गुञ्जायमान भइरहेका हुन्छन् । जनकपुरधामलाई विश्व समुदायका लागि उत्कृष्ट उदाहरणको रुपमा लिन सकिन्छ ।

यद्यपि जानकी मन्दिरको पछाडी रहेको सो मस्जिद तथा स्थानीय मुस्लिमहरुको समुदायबाट सञ्चालित मदरसाको अवस्था एकदमै दयनिय रहेको छ ।

अल जामेअतुल हनफियतुल गौसिया मदर्सा वर्षौदेखि सञ्चालनमा रहेपनि स्थानीय सरकार बनिसकेपनि सरकारको आँखा यहाँसम्म पुग्न नसक्नु आफैँमा दुर्भाग्य मान्न सकिन्छ । सरकारी आँखा सो मदरसामा पर्न नसकेपछि त्यहाँको अवस्था झन दयनिय बन्दै गइरहेको छ । विसं २०१२ सालमा स्थापना भएको अल जामेअतुल हनफियतुल गौसिया मदरसा विसं २०६५ मा आएर मात्रै सरकारी मान्यता प्राप्त गर्न सफल भएको हो । सरकारी स्तरबाट मान्यता पाएको १२ वर्षपछि पनि यहाँ न विद्यार्थीकै लागि कुनै किसिमको सुविधा प्रदान गरिएको छ न त शिक्षकहरुकै लागि । सामाजिक सहयोगबाट सञ्चालित यस मदरसामा १ सय २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये ५० जना छात्राहरु नै छन् ।

उर्दु शिक्षाको आकर्षण घटिरहेको समयमा पछिल्लो शैक्षिक सत्रको तुलनामा यस मदरसामा विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । शैक्षिक सत्र २०७५÷०७६ मा २५ विद्यार्थी मात्रै रहेकोमा चालु शैक्षिक सत्रमा थप ८५ विद्यार्थीहरु अध्ययन गर्नका लागि पुगेका हुन् । यहाँ छात्र छात्राहरु उर्दु शिक्षाका लागि पुग्ने गर्छन् भने अन्य विषयको अध्ययनका लागि अर्को विद्यालयमा अध्ययन गर्ने गर्छन् । मदरसामा रहेको विद्यालय व्यस्थापन समितिको पहलकै कारण विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढेको समितिका अध्यक्ष जलालुद्दिन खानले दावी गरे ।

मदरसामा शिक्षक नै छैनन्
२०६५ सालमा सरकारी स्तरमा मान्यता प्राप्त गरेको अल जामेअतुल हनफियतुल गौसिया मदरसामा हालसम्म शिक्षकहरुलाई नियुक्ति नै गरिएको छैन । विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएका शेख नइमले कक्षा २ सम्म सरकारबाट मान्यता प्राप्त मदरसा रहेपनि एकजना शिक्षकको पनि दरबन्दी नरहेको बताए । नइम मदरसाका सदर मुदरिस (प्रधानाध्यापक) हुन् । तर, उनी स्वयं पनि दरबन्दीबाट आएका होइनन् । मदरसामा दरबन्दी किन राखिएको छैन भन्ने प्रश्नमा शिक्षा समन्वय ईकाइ समिति धनुषाका प्रमुख बर्खु प्रसाद रजकले अब माविसम्मको शिक्षा स्थानीय तहमा गइसकेकोले स्थानीय तहबाट नै दरबन्दी गर्नुपर्ने बताए । उनले भने–‘स्थानीय तहमा दरबन्दी मिलान भइरहेको र दरबन्दी नियमावली बनिसकेकोले अब शिक्षक माग गर्दा पूर्ती हुनेछ ।’

प्रधानाध्यापक नईमले भने–‘आफूहरु अड्डा कार्यालय धाउँदा–धाउँदा हैरान भइसके तर अहिलेसम्म केही हासिल हुन सकेको छैन ।’ नइमले फेरी स्थानीय तहमा निवेदन लिएर जान्छौँ हेर्नुस् के हुन्छ प्रतिक्रिया दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले समेत मदरसामा शिक्षक दरबन्दीका साथै विद्यार्थीहरुको दिवा खाजा, ड्रेस, छात्रवृति लगायतका अन्य सुविधाका लागि पहल भइरहेको जानकारी गराए ।

मदरसामा जम्मा ७ जना शिक्षकहरुलाई सामाजिक स्तरमा राखिएको छ । उनीहरुको तलब मुस्लिम समुदायबाट उठ्ने जकात अर्थात चन्दाबाट व्यवस्थापन हुँदै आएको छ । विराटनगरबाट आएका प्रधानाध्यापक नईम मात्र १० हजार पारिश्रमिक लिएर विद्यार्थीहरुलाई पढाउँदै आइरहेका छन् । उनले भने–‘उर्दु भाषा हराएर नजाओस् ध्येयका साथ मात्रै आफू कम पारिश्रमिकमा काम गर्दै आएको छु ।’

अल जामेअतुल हनफियतुल गौसिया मदरसामा धनुषा जिल्लाको मात्र नभई महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट, भारतको विभिन्न स्थानबाट समेत उर्दु शिक्षा ग्रहण गर्नका लागि बिद्यार्थीहरु पुग्ने गर्दछन् ।

फजिलतसम्म पढाई मौलवीसम्म मात्र विद्यार्थी
अल जामेअतुल हनफियतुल गौसिया मदरसा नेपाल सरकारबाट कक्षा २ सम्म मात्रै मान्यता प्राप्त छ । यद्यपी सामाजिक स्तरमा चन्दा उठाएर मदरसामा फजिलत अर्थात एमएसम्मको अध्यापनको व्यवस्था रहेको छ । तर, अहिले विद्यार्थी अभावमा मौलवी अर्थात कक्षा १० सम्म मात्रै पढाई हुँदै आइरहेको छ । केही दिन अगाडी मात्रै दस्तारबन्दी अर्थात दिक्षान्त समारोह गरेर दुई जना विद्यार्थीलाई मौलवीको उपाधी प्रदान गरिएको थियो । यहाँ सरकारी स्तरबाट उचित प्रबन्ध नरहेकोले यी दुई विद्यार्थीहरु बाहिर उच्च शिक्षा हासिल गर्नका लागि गइसकेका छन् ।

उर्दु शिक्षा आय आर्जनको माध्यमसँग अहिलेसम्म नजोडिएकोले अहिले पनि विद्यार्थीहरुलाई अन्य विद्यालयमा अध्ययन गर्नुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले बताए । उर्दु शिक्षालाई पनि आय आर्जनको माध्यमसँग जोड्न सकियो भने यहाँ विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढ्नसक्ने उनले दाबी गरे ।

यो मदर्सा अहिले अत्यन्त नाजुक अवस्थामा पुगेको छ । यस मदरसालाई अन्य मदर्सामा विलय गर्नुपर्ने स्थानीयवासीको माग छ ।

२ नम्बर प्रदेशमा ४ सय ७ वटा मदरसाहरू सञ्चालनमा
सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रदेशको शैक्षिक प्रोफाइललाई अध्ययन गर्ने हो भने प्रदेश भरिमा जम्मा ४ सय ६ वटा मदरसाहरू सञ्चालनमा छन् ।

कक्षा १ देखि ५ सम्म सर्लाहीमा ८६, महोत्तरीमा ७२, धनुषामा ७२, सिरहामा ६३, बारामा ३३, पर्सामा ३३, सप्तरीमा २७ र रौतहटमा २० वटा गरी कुल ४ सय ७ वटा मदर्साहरू सञ्चालित छन् । सिरहामा कक्षा १ देखि ८ सम्म एउटा मात्र मदर्सा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्