सशस्त्रमा सामान खरिदमा भ्रष्टाचार, अख्तियारको छानबिन शुरु



काठमाडौं : सशस्त्र प्रहरी बलभित्र सामान खरिद गर्दा ठूलो अनियमितता भएको खबर बाहिर आएको छ । गुणस्तरसम्बन्धी पत्र नै फेरेर सामान खरिद गरिएको तथ्य सार्वजनिक भएको हो ।

गत वर्ष ४३ हजार मिटर सुतीको कपडा खरिद गरेको थियो । जसको परीक्षणको लागि नेपाल नापतौल तथा गुणस्तर विभाग पठाएको थियो । विभागले कपडा वेफ्ट डायमिटर दुई सय ९९ रहेको भनेर रिपोर्ट पठायो । तर, सशस्त्र प्रहरी मुख्यालय पुग्दा त्यसलाई बढाएर वेफ्ट मिटर तीन सय ६० बनाइयो । यसरी कमसल कपडालाई गुणस्तरयुक्त बनाएर नक्कली पत्र बनाइयो । सोही पत्रको आधारमा भुक्तानी समेत दिएपछि निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि आयोगले अनुसन्धान थालेको छ ।

सशस्त्रभित्र कपडा खरिदमा मात्र नभई जुत्ता लगायत सामान किन्दा पनि भ्रष्टाचार भएको श्रोतले बताएको छ । स्पेशिफिकेसनमा तोकेको भन्दा कमसल सामान दिने र कमिसन बाड्ने गरिएको कुराले सशस्त्र मुख्यालयमा हलचल पैदा भएको छ । यो आर्थिक वर्षमा पनि सशस्त्रको करिब ३० करोडको खरिदमा यसैगरी अनियमितता भएको छ । यो विषयमा आयोगले छानबिन थालेपछि कमिशनमा लागेको हाकिमहरुको निदहराम भएको बताइन्छ ।

ठेकदारहरुसँगको मिलेमतोमा गुणस्तरहीन सामान खरिद गरकै कारण पोसाकहरु दुई महिनामै च्यातिने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्