“ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोली”



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज (बिहीबार) नयाँ बानेश्वरमा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सारङ्गी टोलीवाट प्रस्तुति देखाएको छ ।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाइएको र सडक प्रयोगकर्ताहरूले उक्त कुरालाई व्यवहारमा प्रयोग गरी पालना गर्नुहुनेमा आफू विश्वस्त रहेको बताए ।

यस सांगीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकारहरू हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिल बहादुर गन्धर्वले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन ’बोलको सचेतना गीत गाएका थिए । गितको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नहाक्न, तीव्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सके जीवनको रक्षा हुने र घर परिवार समेत ढुक्क हुने कुरा प्रस्तुत गरे ।

यो अभियान प्रभावकारी हुने र आम सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जिवन पद्दतीको रुपमा लिने विश्वास गर्दै एक सातासम्म उपत्यकाका मुख्य मुख्य चोकहरूमा सञ्चालन हुने जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

यस अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्यलाई निरूत्साहित हुनुका साथै ट्राफिक लाईट सञ्चालन भएका चोकहरूमा ट्राफिक लाईट पालना गरि बाटो काट्न थप सहयोग हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्