२५ औं जनयुद्ध दिवस जनकपुरमा पनि मनाइयो



जनकपुरधाम : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री रघुवीर महासेठले दुईवटा महान पार्टीको एकता भएर बनेको पार्टी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई जनताको जनचाहना अनुसार अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धनुषाद्वारा भानुचोकमा आयोजित २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रममा बोल्दै उनले पार्टीभित्र कुनै किसिमको गुटबन्दीमा नलागि एकढिक्का भएर पार्टीलाई मजबुत बनाउन नेता कार्यकर्ताहरुसँग आग्रह समेत गरे ।

नेता महासेठले नेकपा धनुषा जिल्लाका बरिष्ठ नेता तथा अगुवा कार्यकर्ताहरुसँग देश र जनताको बिकास,वर्तमान राजनीति गतिविधि र पार्टीको समसामयिक विषयमा समेत छलफल गरेका छन् ।

त्यस्तै २५ औं जनयुद्ध दिवसको अवसरमा सहिदहरुलाई सम्झना गर्दै जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखि क्याम्पसमा पनि दिप प्रज्वलन गरिएको छ ।

तत्कालिन माओवादीले देशमा दश वर्षसम्म सशस्त्र जनआन्दोलन गरेको २४ वर्ष पुरा भएको भन्दै अनेरास्ववियू क्रान्तिकारी निकटका बिद्यार्थीहरुले रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा दिप प्रज्वलन गरेको हो ।

२०५२ साल फागुन १ गतेबाट तत्कालिन माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भूमिगत रुपमा सशस्त्र जनआन्दोलन गरेको र त्यसैक्रममा शहादत प्राप्त गरेकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको विद्यार्थी नेता आनन्द झाले बताए ।

झाले जनयुद्ध भएकै कारण आज जनताद्वारा शासित धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताए । उनले भने,‘विभिन्न राजनीतिक संघर्षहरुको पूर्णता,दश वर्षे जनयुद्ध र दोश्रो जनआन्दोलन पछि देशमा संघियता आएको छ ।’ दश वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मात्र भएको छैन्,२ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अन्त्य गरेकोले हामीले जनयुद्ध दिवस मनाएका छौं,झाले बताए ।

प्रतिक्रिया दिनुहोस्