जापानमा कोरोना भाइरसबाट एक महिलाको मृत्यु



काठमाडौं: जापानमा कोरोना अर्थात ‘कोभिड-१९’ भाइरसबाट एक जनाको ज्यान गएको छ ।

जापानमा भाइरसबाट सङ्क्रमित पहिलो एक जना महिलाको ज्यान गएको हो । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिककी भएको बताइएको छ ।

गएको जनावरीमा बिरामी परेकी ती महिलालाई पछि मात्र निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा सारिएको थियो ।

जापानमा दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जना राजधानी टोक्योका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ ।

केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसक्दा अहिलेसम्म जापानमा दुई सय ५१ वटा कोरोना सङ्क्रमणको घटना सार्वजनिक भएको छ । जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ ।

योसँगै चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्