हुवावेविरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना



वासिङटन : अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावेविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । 

गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी कम्पनीको गोपनीयता, प्रविधि र रोजगारी खासेको आरोप लगाउँदै आएका छन् । उनले चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २ सय अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशतसम्म कर वृद्धि गरेका छन् । चीनले पनि प्रतिशोधस्वरुप अमेरिकी सामानमा करवृद्धि गरेको छ । 

अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोगमार्फत सूचना चोरी गरेको आरोपमा अमेरिकी नेतृत्वमा विश्वभर नै दबाब सिर्जना गरिएको छ । 

हुवावे र न्याय विभाग दुबैले उक्त समाचारका बारेमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । तर हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुङ्गिएको जनाएको छ ।

 

अमेरिकी जुरीको आदेशमा दुई कम्पनीबीच भएको व्यवसायिक साझेदारीमा कुनै नोक्सानी नभएको तथा जानाजान कुनै उपकरण हात नपारेको उल्लेख छ । तर टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको छ । 

अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अरु बढाउने चर्चा सुरु भएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमै तिक्तता आएको छ ।

प्रतिक्रिया दिनुहोस्