राजेशपायलले गाउँदागाउँदै बीचमै आयाेजकले माइक्राेफाेन अफ गरिदिएपछि…



काठमाडौं : हङकङमा भएको ‘भद्रकला एकल साँझ’मा गायक राजेशपायल राईले गीत गाउँदागाउँदै बीचमै आयाेजकले माइक्राेफाेन अफ गरिदिएपछि दर्शकले खल्लाे महसुस गर्नुपर्याे ।

 

‘न्याउली रोयो’ बोलको गीतबाट प्रस्तुति सुरु गरेका राईले गीत गाउँदागाउँदै आयोजकले माइक्रोफोनको साउन्ड अफ गरिदिएका थिए । भद्रकला एकल साँझमा भद्रकलाद्धारा रचित गीतमात्र प्रस्तुत गर्नुपर्नेमा राईले अरुले रचेका गीत प्रस्तुत गरेका कारणले तनाव उत्पन्न भएको थियो । 

त्यसपछि राईले स्टेज छोडेका थिए । त्यसको केही समयपछि राईले ‘न्याउली रोयो’ भन्ने गीतबाटै प्रस्तुति सुरु गरेर भद्रकलाद्वारा रचित गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक तथा संगीतकार बादल लिम्बुले भद्रकलाद्वारा रचित चारवटा गीतबाट दर्शकलाई मनोरञ्जन दिलाएका थिए । 

पहिलो पटक सांगीगित प्रस्तुतिका लागि विदेश भ्रमणमा रहेकी गायिका प्रविसा अधिकारीले पनि राम्रै प्रस्तुति दिइन् भने मौलिक भेषभूषामा सजिएकी अभिनेत्री मारिष्का पोखरेलको नृत्यले पनि पर्याप्त ताली पायो ।

स्टेजमा उत्रिएकी मोडल तथा युट्युबर सोनिका रोकायाले वातावरणलाई रमाइलो बनाइदिइन्  । कार्यक्रममा भद्रकलाको एकल रचनामा तयार पारिएको एल्बम ‘माया’ पनि विमोचन गरियो । 

याउमा तेईमा रहेको कम्युनिटी हलमा सम्पन्न कार्यक्रम भद्रकला आइबुहाङ राईद्धारा रचित गीतहरु प्रस्तुत गरिएको थियो  । लामो समयदेखि समाजसेवा र गीत रचनामा समर्पित भद्रकलाले दुई सय बढी गीत लेखिसकेकी छन् । यस कार्यक्रमबाट उठेको रकम लामो समयदेखि बिरामी नीतेश लिम्बु र सविता मिजारको उपचारमा खर्च गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्