सशस्त्रमा डीआईजी बन्न दौडधूप



काठमाडौँ : सशस्त्र प्रहरीबलभित्र दुई डीआईजी पद रिक्त हुँदैछन् । ३० वर्षे सेवा अवधीका कारण सशस्त्र प्रहरीका डीआईजीद्वय चिरञ्जीवी अधिकारी र डीआईजी गोविन्द क्षेत्री आगामी १४ गते अवकाश हुँदैछन् ।

यसरी रिक्त हुन लागेको दुई डीआईजीका लागि अहिले दौडधूप शुरु भएको छ ।

सशस्त्र प्रहरीभित्र अहिले रिक्त दुई डीआईजीमा कसलाई बढुवा गर्ने भन्ने विषयले सशस्त्र मुख्यालय हलचोकमा तताएको छ । केही समयअघि मात्रै सशस्त्र प्रहरी बलमा हालैमात्र ५ जना एसएसपीहरू डीआईजीमा पदोन्नति भएका थिए ।

अहिले सशस्त्रको डीआईजी पदका लागि एसएसपीहरु हरिश्चन्द्र अधिकारी, अभिकुमार खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् ।

डीआईजीका लागि प्रतिस्पर्धी रहेका एसएसपीहरू पहिलो नम्बरमा जो डीआईजी हुन्छ त्यो नै शैलेन्द्र खनालपछि हुने सशस्त्रका प्रमुखपछिको उत्तराधिकारी बन्ने देखिन्छ । त्यसैकारण अहिले डीआईजी बढुवा निकै रोचक देखिदैछ । बढुवाका लागि ती एसएसपीहरु विभिन्न शक्तिकन्द्र धाउन थालिसकेको छन् ।

उता बढुवापछि पदस्थापन भएका डीआईजीहरुलाई जिम्मेवारी पनि बाडफाड गरिएको छ ।

केही दिन अगाडि डीआईजी बनेका कृष्णभक्त ब्रह्माचार्यलाई ३ नम्बर प्रदेशमा पदस्थापन गरिएको छ । त्यसैगरी हरिशंकर बुढाथोकीलाई सुदूरपश्चिमाञ्चल क्षेत्रको बाहिनीको जिम्मेवारी दिइएको छ भने राजेन्द्र बस्नेतलाई सानोगौचरणस्थित स्टाफ कलेजको जिम्मेवारी दिइएको छ । यस्तै इञ्जिनियर विश्व प्रधान वंशिराज दाहाललाई मुख्यालयमा नै राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्