एउटै गोत्रको केटासँग विवाह गरेको भन्दै परिवारले नै गरे छोरीको हत्या



एजेन्सी : आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै एक परिवारले एक युवतीको हत्या गरेका छन् ।

भारतको दिल्ली नजिकै परिवारका सदस्यहरुले नै ती युवतीको हत्या गरी फालिदिएको घटना सार्वजनिक भएको छ । पूर्वी दिल्लीबाट कारमा उनको मृत शरीर राखेर गत जनवरी ३० मा यूपीको सिकन्द्राबादस्थित क्यानलमा फ्याँकिएको थियो ।

शीतल चौधरी नामकी युवतीलाई उनकै अभिभावक र अंकलहरु मिलेर हत्या गरी फालेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् । घटना सार्वजनिक भएपछि प्रहरीले ती युवतीको परिवारका सदस्य सञ्जय र ओम प्रकाश, अंकलका २ छोरा अंकित र प्रवेशलाई पक्राउ गरेको छ ।

उनीहरुले शीतल चौधरीलाई अपहरणपछि हत्या गरेको दिल्ली प्रहरीको आरोप छ । शीतलका श्रीमान अंकित भाटीले मुद्दा दायर गरेपछि प्रहरीले घटनामा चासो देखाएको थियो । प्रहरीका अनुसार उनीहरुले गत अक्टोबरमा परिवारको अनुपस्थितिमा गोप्य विवाह गरेका थिए ।

साथै उनीहरु परिवारभन्दा टाढा रहँदै आएका थिए । चौधरी र भाटी दुबैका परिवार डेरी व्यवसाय चलाउँदै आएका छन् । उनीहरु छिमेकी पनि रहेको बताइएको छ । पछिल्लो ३ वर्षयता उनीहरु ‘डेटिङ’ गर्दै आएका थिए । चौधरीको हत्यापछि परिवारका ६ जना मिलेर गाडीमा शव राखी सिकन्द्राबादमा लगेर फालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्