संसारकै ठूलो ज्यान भएका बडी बिल्डर नेपाल आउने



काठमाडौँ : ‘द विष्ट’ को उपनामले प्रख्यात सबैभन्दा ठूलो ज्यान भएका बडी बिल्डर खेलाडी रोली विङ्लार नेपाल आउने भएका छन् । 

नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप २०१९ को प्रो क्वालिफायरका लागि विङ्लार फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले बताए । 

बडी बिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्क पर्छ । ‘फुटबलको वर्ल्डकप क्वालिफायर जस्तै मिस्टर ओलम्पियाका लागि पनि यो क्वालिफायर हो, प्रो कार्डबिना मिस्टर ओलम्पियामा भाग लिन पाइँदैन', गुरुङले भने । 

त्यसैका लागि गुरुङले आइएफबिबीको फ्रेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लागेका हुन् । आगामी फागुन ३–४ मा प्रज्ञा भवनमा आयोजना हुने ‘प्रो क्वालिफायर’मा अतिथिको रुपमा विङलार काठमाडौँ आउन लागेका हुन् ।

 

विङ्लार बडी बिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र हुन् । उनको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन् भने फेसबुकमा एक लाखभन्दा बढी ‘फलोअर’ छन् । 

विङ्लारको पाखुरा मात्र २४ इन्चको छ । नेदरल्यान्डमा जन्मिए पनि आफ्नो व्यावसायिक खेल जीवनका कारण उनी अमेरिकामा बसोबास गर्छन् । यसैबीच उनले एक भिडियो सन्देश जारी गर्दै आफू नेपाल आउन लागेको बताएका छन् । भिडियो सन्देशमा नेपालमा आयोजना हुने ‘प्रो क्वालिफायर’ मा भाग लिने सबै खेलाडीसँग छिट्टै भेट हुने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्