मोरङमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु 



विराटनगर : फ्रेन्डशिप चेस क्लबको आयोजनामा फिडे रेटिङ ‘सहिद रत्नकुमार वान्तवा’ प्रथम राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता मोरङको पथरीशनिश्चरेमा शनिबारबाट सुरु भएको छ । 

 

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्धघाटन गरेको प्रतियोगिता पाँच दिनसम्म चल्ने छ । प्रतियोगिताको पहिलो दिन खेलाडीबीच प्रतिष्पर्धा जारी छ । 

 

प्रतियोगिता आयोजक समितिका खेल संयोजक अर्जुन जम्नेली राईले प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ४० हजार र तृतिय हुनेलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए ।

 

 खेलमा  १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको खेल उनको भनाइ छ । प्रतियोगितामा एक सय ३५ जना खेलाडीले सहभागिता जनाएका छन् ।

 

 पहिलो दिन फिडे मास्टर (एफ.एम) रिजेन्द्र राजभण्डारी, विमेन फिडे मास्टर (डब्लू. एफ.एम) सुजना लोहनी, क्यान्डिडेट मास्टरहरु कृष्ण थापा, भुपेन्द्र निरौला, नवीन तन्दुकर लगायतका खेलाडीहरु प्रतिष्पर्धा जारी छ । 

प्रतियोगिताको उद्धघाटन गर्दै मुख्य मन्त्री राईले बुद्धिचाल बौद्धिक खेल भएकाले यो प्रतियोगिताको सबैले सम्मान गर्नु पर्ने बताए ।

 

 उनले यस खेलबाट दुस्साहष पूर्ण निर्णय गर्दा हुने क्षति र होसियारी अपनाउँदा पुग्ने फाइदा बारे जानकारी मिल्ने बताए । यस्ता खेलको संरक्षण र सम्वद्धनका लागि प्रदेश सरकारले समेत सहयोग आश्वासन उनले दिए । 

थोरै राजनैतिक प्रसंग केलाउँदै उनले पूर्व राजा र राजावादीहरु सलबलाएर केही पनि नहुने बताए । राजा र राजावादीलाई जनताले ठेगान लगाइसकेका कारण उनीहरुको उफ्राईको कुनै अर्थ नहुने मुख्य मन्त्री राईको दावी छ । 

उनले पूर्व राजा हौसिएर नाचगानमा लागेको प्रति टिप्पणी गर्दै गणतन्त्र र संघीयता अझ मजवुद भएर जानेमा ढुक्क हुन सबैलाई आग्रह गरे । पञ्चायती शासन विरुद्ध लड्दा शासकको गोली लागि मृत्यु भएका सहिद रत्नकुमार वान्तावाको योगदानको समेत मुख्यमन्त्री राईले चर्चा गरे । 

खेल उद्धघाटन सभामा बुद्धिचाल खेलाडीका पूर्व खेलाडी स्व. ईश्वर आँशु मगरलाई मरणोप्रान्त सम्मान समेत गरियो । पथरीका सामाजिक व्यक्तित्व समेत रहेका मगरको पत्नी रमिला थापा मगरलाई सम्मान पत्र प्रदान गरिएको थियो । 

उद्धघाटन समारोहमा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश १ का मुख्य सचिव तिलकप्रसाद राई, आयोजक क्लबका अध्यक्ष अमिर राई, प्रदेश सभा सदस्य कृष्णकुमारी राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राई, उपप्रमुख यमुना विष्ट, कानेपोखारी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले लगायतले बुद्धिचाल खेलको आवश्यकता र सान्दर्भिकताका बारेमा बोलेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्