आर्सनलसँग यसरी हार्‍यो चेल्सी



लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार विहान भएको ‘लन्डन डर्बी’ भिडन्तमा आर्सनलले चेल्सीलाई २—० गोलले हराएको छ । जितसँगै आर्सनलले तालिकाको माथिल्लो चार स्थानभित्र रहेर लिग टुंग्याउने सम्भावना पनि कायमै राखेको छ । आर्सनलले तालिकाको चौथो स्थानमा आसिन चेल्सीसँगको दूरी तीन अंकमा झारेको छ भने गोलअन्तरका आधारमा म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । आर्सनलले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो ।

खेल सुरु भएको चौथो मिनेटमै एलेक्जेन्डर लाकाजेट्टीले आर्सनललाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा कप्तान लाउरेन्ट कोसिएल्नीले आर्सनललाई २—० ले अगाडि बढाएका थिए । आर्सनल र चेल्सी दुबैका लागि उक्त खेल प्रतिष्ठाको विषय पनि बनेको थियो ।यी दुबै टोलीले पछिल्लो समय गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । आफूले खेलेका पछिल्ला आठमध्ये चार खेलमा आर्सनल पराजित भएको छ । त्यसअघि आर्सनल लगातार २२ खेलमा अपराजित रहेको थियो ।

यसैगरी चेल्सी पनि आफूले खेलेका पछिल्ला सातमध्ये चार खेलमा मात्र जित हात पार्न सकेको छ । २३ खेल खेलेको लिभरपुल ६० अंकसहित तालिकाको पहिलो स्थानमा छ । २२ खेलबाट ५३ अंक बटुलेको म्यानचेस्टर सिटी दोस्रो र २२ खेलबाट ४८ अंक हात पारेको टोट्टनहाम तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्