पत्रिकामा पोको पारेका खानेकुराले क्यान्सरको जोखिम



काठमाडौं : कुनै पनि खानेकुरा पत्रपत्रिकामा राखेर दिनु र पत्रपत्रिकामा पोको पारेर राख्नु हाम्रो समाजमा सामान्य मानिन्छ । तपाईं चटपटे खान जानुहोस् । बिक्रेताले पत्रपत्रिकामै पोको पारेर चटपटे दिन्छ । तात्तातो दुनोट माग्नुहोस्, बिक्रेताले तापाईंलाई पत्रिकाले बेरेजसरी दिन्छ । मासु किन्न जानुहोस्, मासु पसलेले समेत पत्रिकामै पोको पारेर तपाईंलाई मासु दिन्छ ।

तर, तपाईं हामीमध्ये कमैलाई थाहा होला– पत्रपत्रिकामा पोको पारेर दिएको खानेकुरा खानु स्वास्थ्यका हिसाबले ठीक हुँदैन । झन् त्यस्ता खानेकुरा खाँदा प्राणघातक रोग क्यान्सर लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैलाई थाहा नै छैन । हो, यदि प्रयोगमा आइसकेका पत्रपत्रिकामा पोको पारेर राखिएका खानेकुरा खाने बानी छ भने आजै त्यागौं । चिकित्सकहरुले पनि यो विषयलाई जनचेतना विस्तारकै रूपमा अघि बढाउनुपर्ने धारणा राख्न थालेका छन् ।

रोगमध्येकै जटिल मानिन्छ क्यान्सर । कतिपय क्यान्सर यति खतरनाक हुन्छ, चिकित्सा विज्ञानले पनि उपचार गर्न सक्दैन । मानिसको मृत्युसमेत हुन सक्छ । के कारण यो रोग लाग्छ धेरैलाई जानकारी छैन । चिकित्सकको भनाइअनुसार प्रयोग भइसकेको पत्रिकामा पोको पारेको खानेकुरा खाँदा पनि क्यान्सरको जोखिम हुन्छ । वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार प्रयोग गरिएका पुराना पत्रपत्रिका, कागजपत्रमा पोको पारेका खानेकुराले मुटु रोग र क्यान्सर लाग्न सक्छ । यसको प्रयोगले फोक्सो र खाने नलीमा समेत समस्या हुन सक्छ । श्वासप्रश्वाससम्बन्धी रोगसमेत लाग्न सक्छ ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले पत्रिकामा बेरेको खाने कुरा खाँदा क्यान्सर हुन सक्ने भएकाले त्यस्तो खाना नखान सुझाव दिए । ‘कागजमा बेरेको खाना खाँदा त्यहाँ भएको केमिकल खाने कुरासँगै मानिसको पेटमा पुग्छ, त्यसपछि फोक्सो र मूत्रथैलीमा (ब्ल्याटर) क्यान्सर हुन सक्छ,’ डा. पौडेलले भने ।

एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा करिब ६० लाख मानिस बसोबास गर्छन् । तीमध्ये दैनिक करिब २० हजार मानिसले कागज (पुरानो पत्रिका, किताब वा अन्य प्रयोग भइसकेकको कागज) मा बेरेको खाने कुरा खाइरहेका छन् । यस हिसाबले काठमाडौंमा बसोबास गर्ने दैनिक २० हजार मानिसमा क्यान्सर रोगको संक्रमण हुने खतरा छ । विशेषतः चटपटे, जेरी, दुनोट, समोसा, चप, पकौडा, निक्कीलगायतका खानेकुरा व्यापारीले पत्रिकामा बेरेर दिने गर्छन् भने उपभोक्ताले पनि सहजै स्विकार्छन् ।

डा. पौडेलका अनुसार नेपालमा खानपानलगायत विभिन्न कारणले वर्षमा १० हजार मानिस क्यान्सर रोग लागेर अस्पतामा उपचार गर्न आउँछन् । यस्तै, क्यान्सर रोग लागेर स्वास्थ्य जाँच नगराउनेको संख्या पनि झन्डै २० हजार रहेको राष्ट्रिय क्यान्सर अस्पतालले जनाएको छ । पत्रपत्रिकामा पोको पारेका खानेकुराले उपभोक्ताको स्वास्थ्यमा विभिन्न रोग लाग्न सक्ने जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पनि छ । त्यसैले, विभागले सडक खानासम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

सो निर्देशिकामा पत्रपत्रिका र कागजपत्रमा पोको पारेर उपभोक्तालाई खानेकुरा बिक्री गर्ने व्यापारीलाई खाद्य ऐनबमोजिम कारबाही गर्ने विषय समेटिएको छ । विभागका प्रवक्ता वस्तीले सो निर्देशिका सकेसम्म छिटो ल्याउने तयारी भइरहेको बताए । निर्देशिका आएपछि पत्रपत्रिका र कागजपत्रमा खानेकुरा पोको पारेर उपभोक्तालाई बिक्री वितरण गर्ने कार्यमा रोक लगाइनेछ ।निर्देशिकामा व्यापारीले उपभोक्तालाई खानेकुरा के कसरी दिने भन्ने मापदण्डसमेत निर्धारण गरिने भएको छ । सो मापदण्डविपरीत उपभोक्तालाई खानेकुरा दिए खाद्य ऐनअनुसार कानुनी कारबाही हुने प्रवक्ता वस्तीले बताएका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्