धादिङको बेनीघाटका २७ जनामा दादुरा संक्रमण देखियो



काठमाडाैं : सरकारले सन् २०२३ भित्र दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, वर्षको सुरुवातमै धादिङको बेनीघाटमा २७ जनामा दादुरा संक्रमण देखिएको छ । बेनीघाटस्थित चेपाङ बस्तीका २७ जनामा एकैपटक संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नमुना परीक्षणका क्रममा उनीहरूमा दादुरा पोजेटिभ देखिएको हो । सो ठाउँका मानिसको ढाड, पिठिउँ, अनुहारमा स–साना राता दाना देखापरेको थियो । साथै, टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा दाना फैलिन थालेपछि उनीहरूमा दादुराको आशंका गरिएको थियो ।

बिरामीको नमुना परीक्षणका लागि आइतबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो । गम्भीर बिरामी परेका तीनजनामध्ये दुईजनालाई कान्ति बाल अस्पताल र एकजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । डा. गौतमका अनुसार ६ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुरा संक्रमण देखिएको छ । सरकारी टोली प्रभावित क्षेत्रमा पुगेर अध्ययन गर्दा त्यहाँका बालबालिकाले पाउनुपर्ने ११ प्रकारका खोप नियमित नलिएको देखिएको छ । ‘नियमित खोप नलिएको खण्डमा जुनसुकै उमेरमा पनि दादुरा देखिन सक्छ, ’ डा. गौतमले भने ।

खोप लगाउन आउनेलाई अन्डा र सर्वोत्तम पिठो

प्रभावित क्षेत्रमा सरकारले तत्कालै खोप केन्द्र स्थापना गर्ने भएको छ । त्यस्तै, खोप लगाउन आउनेलाई अन्डा र सर्वोत्तम पिठोसमेत दिने निर्णय गरेको छ । नेपालले सन् २०१९ भित्र दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिएको थियो । तर, दादुरा संक्रमणको दर बढ्न थालेपछि सन् २०२३ सम्मका लागि लक्ष्य सारेको छ । विश्वका अन्य देशहरूमा दादुरा संक्रमण देखिएपछि नेपालको लक्ष्य केही पर धकेलिएको हो ।

महाशाखाका अनुसार सन् २०१७ मा ७७ जनामा दादुरा पुष्टि भएको थियो । तर, यो संख्या सन् २०१८ मा बढेर साढे दुई सय पुग्यो । यस्तै, सन् २०१९ मा चार सय २८ जनामा दादुरा संक्रमण देखिएको थियो । डाक्टर गौतमले भने, ‘दादुरा संक्रमितको संख्यामा वृद्धि हुनुमा नियमित खोप नलगाउनु मुख्य कारण हो ।’ यस्ता प्रकोप रोकथामका लागि खोपले ९५ प्रतिशत जनसंख्यालाई कभर गर्नुपर्छ । उनका अनुसार जन्मेदेखि एक वर्षको उमेरसम्मका बालबालिकाले तालिकाअनुसार ११ खोप प्राप्त गर्नुपर्छ । दादुराको खोप नौै महिना र १५ महिनामा लाउनुपर्ने हुन्छ ।

दादुरा–रुबेला खोप अभियान

नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यअनुसार ‘दादुरा–रुबेला खोप अभियान ०७६’ जारी छ । जन्मेदेखि ५ वर्ष उमेर समूहका ३० लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य छ । सरकारले पहिलो चरणअन्तर्गत १ फागुनबाट प्रदेश १, २ र ५ मा अभियान सुरु गरिसकेको छ । यो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार चार सय ३३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । यस्तै, दोस्रो चरणअन्तर्गत चैतमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार सात सय ७१ बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने लक्ष्य छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्