राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु



काठमाडौं : आजदेखि पाँचौँ राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु भएको छ । नेपाल वुमा संघको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा १९ जिल्लाका २१५ खेलाडी सहभागी छन् ।

उनीहरुले ४५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताबाट नेपालमा आयोजना हुने एशियाली वुमा कुङ्फु च्याम्पियनशिप तथा भारतमा यसै वर्ष हुने विश्व कुङ्फु च्याम्पियनशिपका लागि खेलाडी छनोट गरिनेछ ।

प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी प्रशिक्षणका लागि चीन पठाइने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी दिए ।

आज सम्पन्न खेलमा यू-१४ मा पुरुष एकल प्याटर्नको बेयर ह्यान्डमा सोलुखुम्बुका प्रतीक राई पहिलो, ललितपुरका रिसभदेव खड्का दोस्रो तथा रामेछापका मिङ्मा तामाङ र काठमाडौंका निर्भान कार्की तेस्रो भए ।

यस्तै यू-१४ वर्षभन्दा बढी उमेर समूह पुरुष एकल बेयर ह्यान्डमा मोरङका अश्विन चौधरी पहिलो, रामेछापका सिवान सुनुवार दोस्रो तथा सिन्धुपाल्चोकका सन्तोष सिग्देल र दोलखाका सुरेन्द्र थापा मगर तेस्रो भए । यसैगरी यू-१४ पुरुष ग्रुप प्याटर्नतर्फ उदयपुरका युसान राई, दोलखाका सुकदेव तामाङ र उदयपुरका सनम राईको टोली पहिलो भए ।

यसैगरी यू-१४ प्याटर्न अन्तर्गत महिला एकल बेयर ह्यान्डतर्फ सोलुखुम्बुकी रेखा राई पहिलो, उदयपुरकी पार्वती मगर दोस्रो तथा ललितपुरकी रिश्मासिंह शाह र काभ्रेपलाञ्चोककी प्रज्ञाश्री शाक्य तेस्रो भए । सोही स्पर्धाको वेपनमा खोटाङकी मनकला राई पहिलो, सोलुखुम्बुकी रेखा राई दोस्रो तथा काठमाडौँकी साइना महर्जन र ओखलढुङ्गाकी सिर्जना बोगटी तेस्रो भइन् ।

यू-२३ ताइची महिला समूह स्पर्धामा तनहुँकी जमुना गुरुङ, नुवाकोटकी अनुष्का तिवारी र प्रेमकुमारी तामाङ तथा काठमाडौँकी निकिशा पौडेलसहितको टोली पहिलो भयो । प्रतियोगिता २ दिनसम्म चल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्