कमाउन मलेसिया पुगेका नेपालीले बनाए चलचित्र



ढल्केवर (धनुषा) : मलेसिया रोजगारी गर्न पुगेका नेपालीले निर्माण गरेको नेपाली भाषाको चलचित्र चाँडै पर्दामा आउने भएको छ ।  मैथिली र नेपाली भाषाका युवा कवि तथा चलचित्र निर्देशक धीरेन्द्र पासवान सौर्यले निर्देशन गरेको नेपाली चलचित्र ‘संस्कार’ चाडैं नेपाली दर्शकमाझ आउने भएको हो । यो चलचित्र विशेष गरी वासनात्मक प्रेमको कथामा आधारित रहेको निर्देशक पासवानले बताए ।

 

अहिलेका युवकयुवतीले प्रेमलाई फेसनको रुपमा लिएर बजारको सामानजस्तै प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई अदलबदल गर्ने, मायाजालमा पारेर यौनको सिकार बनाउने गरेको, अनि यही कारण जीवन बर्बाद भएको यथार्थलाई चलचित्रको कथामा समेटिएको छ । चलचित्रमा ‘गुरु र धिरु’ कविता संग्रहबाट पनि एउटा गीत समावेश गरिएको छ । जुन गीत रोशन मण्डलले गाएका छन् ।

 

मलेसियाको ग्याङ्गटिन हाइल्यान्ड, चाइना टाउन र नेकियसको प्राकृतिक वातावरणमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा नायकको भुमिकामा नेपाली गीतका मोडेल श्याम यादव र नायिका प्रनिता सुम्बा, लक्ष्मी थापा छन् भने खलनायकको भुमिकामा मैथिली भाषाका चर्चित गायक रोशन मण्डल, वीरेन्द्र यादव, श्याम महतो र गोविन्दा रहेका छन । गुरुदयाल यदुवंशीको कथा रहेको यो चलचित्रमा क्यामरा कृष्ण गुप्ताले सम्हालेका छन् भने कुन्दन साहले सम्पादन गरेका छन् ।

 

निर्देशक सौर्यले यसअघि ‘परिवर्तन भाको छ जीवन’, ‘एकै छिन तिम्रो हुन्छु’ लगायत आधादर्जन नेपाली तथा मैथिली गीतको भिडियोमा निर्देशन गरिसकेका छन् । चलिचित्रका अधिकांश कलाकार मिथिला क्षेत्रका चिरपरिचित अनुहार हुन् । उनीहरु आर्थिक अवस्था सबल पार्न मलेसिया गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्