मुठीमा गुठी : जनकपुरमा मठमन्दिरका अर्बौंका जमिन गायब



जनकपुर : हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठीजग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् ।

मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्ति समेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर र पोखरीको सहर मानिने जनकपुरमा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य छेकेका छन् । जनकपुरलाई कुरूप बनाएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गुठीको जमिन थुप्रै अतिक्रमित स्वीकार्दै अनधिकृत अतिक्रमण गर्नेलाई तत्कालै खाली गर्न आह्वान गरेको बताए । जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुटी, मठमन्दिर, मस्जिद, पोखरीलगायतका सार्वजनिक जग्गा÷स्मारकको विवरण पठाउन मालपोत, नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरमा भएको तथ्यांकअनुसार साविकमा धनुषा जिल्लाका विभिन्न मठमन्दिरको साविकको जग्गा ५,८३५ बिघा १० कठ्ठा १९ धुर थियो । २०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभरि अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६,१२९ बिघा २ कठ्ठा १० धुर २ कनमा छ ।

गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ ।

गुठीकै तथ्यांकलाई आधार मान्ने हो भने साविकमा रहेका जग्गा नापीमा झण्डै २९४ बिघाभन्दा बढी बढेको छ । २०४४ देखि २०५१ सालभन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाई बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा २०४६ साल चैत २६ गतेभन्दा पूर्व गुठीको जग्गामा घर बनाई बसेका व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गर्ने प्रावधान रहेको अनुसार लालपुर्जा दिइयो ।

यस ऐनबमोजिम जिल्लाका गुठी जग्गाहरूमध्ये ३,६७३ बिग्घा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो । जिल्लामा रहेका मठ मन्दिरहरूको २,४५६ बिघाभन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । तर, संस्थानका कर्मचारी, मठ मन्दिरका पुजारी तथा महन्थ, प्रशासन, सुरक्षाकर्मी र राजनीतिक दलका नेता तथा भूमाफियाको संलग्नतामा जिल्लाभरिमा अर्बौं मूल्यका सयौं बिघा जग्गा गायब भइसकेको छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख मनोज शर्माले हालसम्म ३० बिघा ७ कठ्ठा १८ धुर जग्गा मात्रै अतिक्रमण भएको दाबी गरे । तर, मन्दिरपिच्छे ठहरिएका बस्ती, लाग्ने गरेको बजार, बस स्टेन्ड, राजनीतिक दलदेखि विभिन्न संघसंस्थाका कार्यालयले मनमौजी जग्गा हडपेका र किनबेच समेत गरिरहेका छन् । आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्