प्रहरीको ‘परफर्मेन्स अडिट’ : डिएसपीसहित ६५ प्रहरी कारबाहीमा



काठमाडौं : सिनामंगलस्थित पवितादेवी अर्यालको घरलाई हतियारसहितका केही अपरिचितले अचानक घेरा हालेर जबर्जस्ती भित्र प्रवेश गरे । बन्द कोठाको ताल्चा फोरे । अनि खानतलासी लिन सुरु गरे । अर्याल अवरोधमा उत्रिएपछि खानतलासी लिने प्रहरी कर्मचारी रहेको खुल्यो । 

विनाकारण प्रहरीको खानतलासीबाट आक्रोशित अर्यालले महानगरीय प्रहरी वृत्त गौशालामा फोन गरिन् । तर, गौशाला प्रहरीले खानतलासीका लागि कुनै पनि टोली नखटिएको जानकारी पाएपछि अर्याल झन् आश्चर्यमा परिन् । घटनास्थल निरीक्षणका लागि गौशाला वृत्तबाट प्रहरी टोली पुग्यो । अनि पत्ता लाग्यो– खानतलासी लिने गौशाला वृत्तको नभई महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी रहेछन् । 

सिनामंगल गौशाला वृत्तको क्षेत्राधिकारभित्र पर्छ । तर, स्वयम्भूका प्रहरी टोली खानतलासी लिन सिनामंगल कसरी पुग्यो ? घटना रिपोर्टिङ हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्यो । अनुसन्धानका लागि कार्यालयले एसपी रेवती ढकालको नेतृत्वमा पाँचजना प्रहरी टोली खटायो । टोलीले निष्कर्ष निकाल्यो– खानतलासीमा खटिएका प्रहरी टोली व्यक्तिगत स्वार्थबाट प्रेरित भई अर्यालको घरमा पुगेका थिए । उनीहरूले स्वयम्भू वृत्त प्रमुख डिएसपी लालध्वज सुवेदीलाई समेत गुमराहमा राखेका थिए । घटनामा संलग्न वृत्तका तीन सइ र तीन प्रहरी जवानलाई कारबाही भइसकेको छ । 

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट एक लुटेरालाई रंगेहात पक्राउ गर्‍यो । वृत्त कार्यालय लगेपछि उसको शरीर खनतलासी भयो । यसक्रममा पर्सबाट १० हजार रुपैयाँ बरामद भयो । खल्तीमा लुटिएको सुन पनि फेला पर्‍यो । मुचुल्का उठाउन वृत्तका एक हवल्दार र प्रहरी जवान खटिए । 

मुद्दा अघि बढेर जब जिल्ला प्रशासन कार्यालय पुग्यो, त्यसपछि पो थाहा भयो– लुटेराबाट बरामद १० हजार रुपैयाँ त दसी प्रमाणबाटै गायब छ । मुचुल्का उठाउने हवल्दार र प्रहरी जवानले लुटेराबाट बरामदमध्ये सुनको मात्रै मुचुल्का उठाएको अनुसन्धानपछि खुल्यो । बरामद १० हजार दुईजनाले बाँडेर लिएका रहेछन् । 

भारत उत्तराखण्डका गणेशसिंह बगडवाल हात्तीसारस्थित फोकस डान्सबार छिरे । हात समाउँदै युवतीले सोफामा लगे । अनि धमाधम अर्डरको क्रम चल्यो । डान्समा मस्त उनीहरूको होस ९० हजार भारतीय रुपैयाँको बिल हातमा परेपछि उड्यो । डिस्काउन्ट माग्न उनीहरू काउन्टर पुगे । तर, आग्रहको सुनवाइ भएन । बरु बारले बाउन्सर प्रयोग गरेर गलहत्याउँदै बाहिर निकाल्यो । रणभुल्लमा परेका उनीहरूले ठगिएको भेउ पाए । 

कानुनी उपचार पाउने आशामा उनी प्रहरी कार्यालय पुगे । तर, प्रहरीले बार मालिकलाई कारबाही गर्न खासै चासो देखाएन । घटना रिपोर्टिङ हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्यो । अनुसन्धानपछि खुल्यो– उक्त क्षेत्रका अन्य बारले पनि यसअघि भारतीय मूलका पर्यटकलाई त्यसैगरी ठगेका रहेछन् । एकै प्रकृतिका घटना एकै क्षेत्रमा दोहोरिन थालेपछि कार्यालयले सम्बन्धित क्षेत्रका प्रहरी प्रमुखसहितको टोलीलाई तत्काल कारबाही गर्‍यो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट गठित ‘परफर्मेन्स अडिट टिम’ले मातहतका प्रहरी कार्यालय अनुगमनपछि आचरणविपरीत गतिविधिमा संलग्न प्रहरी कर्मचारीविरुद्ध गरेको कारबाहीका केही उदाहरण हुन् यी । २२ पुसबाट परिचालित टिमले दुई महिनाको अवधिमा आचरणविपरीतका गतिविधिमा संलग्न ६५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाही गरिनेमा डिएसपीदेखि सिपाहीसम्मका प्रहरी कर्मचारी छन् । जसमध्ये चार सइ, एक हवल्दार र चार प्रहरी जवानसहित नौजनालाई नसिहत दिइएको छ ।

डिएसपीसहित विभिन्न तहका १८ जना प्रहरी कर्मचारीलाई चेतावनी दिइएको छ । ड्युटीमा नखटिएका ३२ प्रहरी कर्मचारीलाई अन्य कार्यालयमा सरुवा गरिएको छ । ड्युटी आवरमै मादक पदार्थ सेवन गर्ने विभिन्न तहका ६ जना प्रहरी कर्मचारीलाई रिह्याबिटेसन सेन्टरमा पठाइएको छ । कार्यालय प्रमुख डिआइजी विश्वराज पोखरेलले भने, ‘प्रहरी कर्मचारीका सम्बन्धमा नागरिकबाट विभिन्न गुनासो आए । यसको निराकरण गर्न हामीले एसपीको नेतृत्वमा ‘परफर्मेन्स अडिट टिम’ गठन गर्‍यौँ । अनुगमनका लागि मातहतका कार्यालय पठायौँ । यही क्रममा प्रहरीबाट भएका विभिन्न अमर्यादित गतिविधि सतहमा आए । अनुसन्धानपछि सबैलाई कारबाही भयो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्