१३ करोड मुल्यको चिनीलाई साढे ४ करोड गोदाम भाडा !



वीरगन्ज: साल्ट ट्रेडिङ कर्पोरेशन वीरगन्जले भारतबाट आयात गरेको १३ करोड रुपैयाँ मुल्यको चिनीको गोदाम भाडा साढे चार करोड रुपैयाँ भन्दा बढि भएको छ । सरकारले दशै र तिहार पर्बलाई लक्षित गरि भारतको गुजरातबाट असोजमा आयात गरेको ४८ हजार नौ सय १० बोरा चिनी वीरगन्जको सुख्खा बन्दरगाहको गोदाममा चार महिनादेखि अलपत्र छ ।

साल्ट ट्रेडीङ कर्पोरेशनले गुजरातको गान्धीधाम स्थित रेनुका सुगर मिलबाट २४ हजार चार सय ४५ मेट्रिक टन चिनी रेलमार्ग हुदै गत असोज ६ गते सुख्खा बन्दरगाहमा ल्याएको थियो ।  बन्दरगाह सन्चालक हिमालयन टर्मिनल्सका अनुसार चार महिना देखि थन्काएर राखिएको चिनीको गोदाम भाडा मात्रै गत आइतवारसम्म चार करोड ५० लाख ४९ हजार एक सय ९१ रुपैयाँ पुगिसकेको छ ।

गोदाममा चिनी राखे बापत एक दिनको भाडा तीन लाख ७६ हजार ६ सय सात रुपैया तिर्नुपर्छ । गोदामका इन्चार्ज सुनिलकुमार सिंहले चिनी व्यवस्थापनबारे अन्योल कायम रहेको बताए । गत पुष अन्तिम साता मन्त्रिपरिषद् बैठकले वीरगन्जको बन्दरगाहमा थन्किएको २४ हजार चार सय ४५ मेट्रिक टन र नेपालगन्ज भन्सार कार्यालयमा रहेको एक सय ४४ मेट्रिक टन चिनीको भन्सार जाँचपासमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिसकेको छ ।

निर्णय भएको तीन हप्ता बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको चिनीको भन्सार जाँचपास हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्