यस कारण घट्यो प्रहरी परिसर काठमाडौंमा उजुरी



काठमाडौं : पछिल्लो समय महानगरीय प्रहरी परिसर टेकुमा उजुरीको चाप उल्लेख्य रूपमा घटेको छ ।

गत माघमा सात सय ८१ उजुरी परेकोमा फागुन महिनाको तेस्रो साता आइपुग्दा पाँच सय २० मात्र उजुरी परेको छ । परिसरको अभिलेखअनुसार १५ फागुन बुधबार १८ जनाको उजुरी परेकोमा १३ जनाको मात्र मुद्दा दर्ता भएको थियो । त्यसको अघिल्लो दिन १४ फागुनमा ४१ वटा उजुरी परेकोमा ३३ वटा मुद्दा दर्ता भएको थियो ।

१५ फागुनयता भने उल्लेख्य संख्यामा मुद्दा दर्ता भएको छैन । १६ फागुनमा १८ वटा, १७ र १८ फागुन दुई दिनमा गरी ४३ वटा, १९ फागुनमा २९ वटा, २० फागुनमा १७ वटा र २१ फागुनमा १६ वटा मात्र मुद्दा दर्ता भएका छन् ।

केही दिनयता परिसरमा मुद्दा दर्ता मात्र नभई उजुरी पनि निकै कम पर्ने गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । ‘महानगरको जनघनत्व वृद्धिसँगै अपराध पनि बढ्दै गएको छ,’ उनले भने, ‘तर केही दिनयता परिसरमा भीड निकै कम छ ।’

डिएसपी बोगटीले जघन्य र तुरुन्तै उजुरी गर्नु पर्नेबाहेक सामान्य प्रकारका उजुरी घटेको बताए । कोरोना भाइरसको संक्रमणबाट बच्न भीडभाड क्षेत्रमा जानु हुँदैन भन्ने सचेतनाका कारण पनि भीड घटेको हुन सक्ने उनको भनाइ छ ।

सामान्य अवस्थामा परिसरमा औसत दैनिक पाँच सय सानातिना उजुरी पर्ने गर्छ । जसमध्ये एक सयवटा जति मुद्दा दर्ता हुने गर्छ । परिसरमा रहेको एक सय ३५ जना क्षमताको हिरासत कक्ष पनि प्रायः भरिभराउ हुन्छ । तर, औसत दैनिक एक सय २० थुुनुवा हुने हिरासत कक्षमा २३ फागुन शुक्रबार भने ७६ जना मात्र थिए । 

कोरोना भाइरसको जोखिममा प्रहरी 
नेपाल प्रहरी जनस्तरमा पुग्ने पहिलो सरकारी निकाय हो । यतिबेला कोरोना भाइरसको संक्रमणको डर सबैतिर फैलिएको छ । यसबाट बच्ने एक मात्र उपाय भनेको सकभर भीडभाडबाट टाढा रहनु नै हो ।

तर प्रहरीले कामको प्रकृतिका कारण भीडबाट टाढा रहन मिल्दैन । र, भीडमा खटिनु पर्ने प्रहरीसँग सामान्य मास्क र सेनिटाइजरसमेत छैन । संक्रमणको जोखिम मोलेर काम गर्नु परिरहेको एक प्रहरी अधिकारीले बताए ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मित्र भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्