अत्यावश्यक वस्तुमा कृत्रिम अभाव र कालोबजारी !



काठमाडौं : यतिबेल विश्व कोरोनाभाइरसका कारण आतंकित छ । यहिलेसम्म यो भाइरस सयभन्दा बढी मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले महामारीका रूपमा पनि घोषणा पनि गरिसकेको छ । कोभिड–१९ को प्रभाव चीनको वुहान प्रान्तबाट शुरु भएको थियो । नेपालमा पनि एकजना कोरोनाभाइरसबाट संक्रमित भेटिएका थिए । तर, उनको उपचारपछि पुरानो अवस्थामा फर्किइसकेका छन् । विश्वमा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फेलिरहेको अवस्थामा नेपालमा खाद्य सामग्री अभाव हुन थालिसकेको छ ।

छिमेकी मुलुक भारत पनि संक्रमितको संख्या बढ्दै जाँदा बजारमा अत्यावश्यक वस्तुको माग बढ्दै गएको छ । खाना पकाउने एलपीजी ग्यास, मास्क, सेनिटाइजर, सर्जिकल लगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेको हो ।

अभाव हुनसक्ने आशंकामा उपभोक्ताले बढी सामान खरिद गर्न थालेपछि बजारमा अभाव देखिन थालको हो । व्यवसायीले समेत अभाव देखाएर बढी मूल्यमा सामान बिक्री गरिरहेका छन् । खाना पकाउने ग्यास, सर्जिकल सामानमा अभाव देखिएको छ भने सरकारले ग्यास, नुन, दाल, चामललगायतका दैनिक उपभोग्य वस्तुको पर्याप्त स्टक रहेकाले अभाव नहुने जनाइरहेको छ ।

तर, सरकारले भने जस्तो सजिलै सामान नपाएको गुनासो भने सर्वसाधारणले गरिरहेका छन् । तिनकुने बस्ने सिर्जना भुजेल केहि–केहि सामान पसलमा भएपनि छैन भन्दै कालोबजारी बढेको बताउँछिन् । उनी भन्छिन्– ‘ग्यास सकिन लागेको थियो तर, ग्यासको अभाव छैन भन्ने समाचार आइरहेकोले होला भन्ने सोचेर किनिएन तर ग्यास सकिएपछि बजारमा जाँदा ग्यास नै पाइएन । दिनभरी डुल्दा डुल्दा अन्तिममा एउटा पसलमा ग्यास छैन भन्दै थियो तर, मैले देखिहाले । ग्यास दिनु भनेको यो होटलको लागि हो उनीहरुले भए धेरै सामान लैजान्छन् भन्दै दिनै मानेनन् । मैले पुलिसलाई फोन गरेर पुलिस लिएर गएपछि बल्ल पाइयो । सबै म जस्तो पुलिस लिएर जाने त छैनन् । सामान भइभइ पनि व्यापारीहरुले लुकाउने गरेका छन् । सरकाले यस्तालाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

उनी मात्र हैन धेरै सर्वसाधारणको मास्क, सेनिटाइजर, ग्यास लगाएतका सामाग्री नपाएको गुनासो सुनिदै आएको छ । कोरोनाभाइरसको त्रासले गर्दा बजारमा मास्क, सेनिटाइजर, औषधिको खपत धेरै हुने गरेको छ । बजारमा मास्क र सेनिटाइजरको कृत्रिम अभाव गर्ने व्यवसायीलाई कारबाहीसमेत गरिएको सरकारले जनाएको छ ।

अत्यावश्यक वस्तुमा कृत्रिम अभाव र कालोबजारी भइरहेको छ – उपभोक्ता अधिकार अनुसन्धान मञ्च
छिमेकी देश चीनको वुहानबाट शुरु भई विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको प्रभाव धेरै देशमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्चजोखिम घोषणा गरेलगत्तै नेपालीहरुमा त्यसको त्रास देखिएको छ ।

त्रास सँगसगै बजारमा आपूर्ति व्यवस्थामा असहजता हुँदै गएको छ । विशेषगरी बजारमा औषधि, मास्क, पञ्जा सेनिटाइजर एवं सरसफाइका विभिन्न सामग्रीको बजारमा चरम अभाव भइरहेको छ । व्यवसायीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएर कालोबजारी गरिरहेका छन् ।

यस्तो अवस्थामा सरकारको महत्वपूर्ण भूमिका हुने भएपनि खासै सरकार जिम्मेवार नदेखिएको उपभोक्ता अधिकार कर्मी माधव तिमल्सिना बताउँछन् ।

उनी भन्छन्–‘सरकार मात्र जिम्मेवार हैन । व्यवसायी र उपभोक्ताको आफ्नो–आफ्नो जिम्मेवारी र भूमिका रहन्छ । तर, यतिबेला सबै त्यो जिम्मेवारबाट सबै टाढा रहेका छन् ।’

बजारमा हुने सबै खाले विभेद र असमानता अन्त्य गर्न कृत्रिम र कालोबजारी गर्नेविरुद्ध निर्मम रूपमा उत्रनुपर्छ । उनी भन्छन्–‘सरकारले सामान छ अभाव हुँदैन भन्दाभन्दै सर्वसाधारणले सामान नपाएको उदाहरण हामीसँग छ । आम नागरिकले विगतको भूकम्प र नाकाबन्दीको समयमा भोग्नुपरेको समस्याका कारण पनि सरकारको भनाइलाई विश्वास नगरेको अवस्था छ । यस्तो अवस्थामा सरकारले सम्पूर्ण अत्यावश्यक औषधि र दैनिक उपभोग्य वस्तुको स्वेतपत्रमार्फत जानकारी गराउनुपर्दछ ।’

विशेषगरी यस्तो विपतको बेला पनि आम उपभोक्तालाई आवश्यक पर्ने वस्तुहरूको आवश्यक भण्डार नगर्न सुझाव दिई कार्यान्वयन गर्न सम्पूर्ण व्यावसायिक संघसंस्थाको अहम् भूमिका रहनुपर्दछ ।

कोरोनाभाइरसको नाममा बजारमा व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गर्ने गरेका छन् । गलत सूचनाले आम सर्वसाधारण उपभोक्ताले आफूलाई चाहिनेभन्दा बढी मात्रामा खरिद गरी भण्डारण गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन्छ । बजारमा एक्कासि माग बढ्दा आपूर्ति व्यवस्थामा असहज हुँदा उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्नेछ । बजारम अभाव देखाएर कालोबजारी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि सरकाले अनुगमनलाई सक्रिय बनाउनुपर्छ ।

अनुगमनलाई तीव्र बनाएका छौं – वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग

बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्नका लागि हामीले अनुगमनलाई तीव्र बनाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

सरकारी तवरबाट पछिल्लो समय बजारको अवस्था, अत्यावश्यक वस्तुको अवस्था, बजार अनुगमन लगायतका अन्य विषयमा केन्द्रित रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सहायक सुचना अधिकारी दिपक पोखरेलले बताए ।

उनले भने–‘हामीले नियमितरूपमा बजार अनुगमन गरिरहेका छौँ । अहिले उपभोक्ताले अभाव हुन्छ कि भनेर आत्तिएकाले पनि खाना पकाउने एलपीजी ग्यास, मास्क, पञ्जा सेनिटाइजर एवं सरसफाइका सामाग्रीहरु केहि अभाव देखिएको छ । यी समस्या हामी छिट्टै समाधान गछौं । ’

आम उपभोक्ताले आवश्यकताभन्दा बढी सामान किनिरहेको हुनाले बजारमा सामानको अभाव हुन्छ कि भन्ने आशंका हो तर, बजारमा त्यस्तो छैन । आत्तिहाल्नुपर्ने अवस्था पनि छैन । खाद्यान्न अभाव हुन्छ कि भन्ने उपभोक्तामा पर्न गएको छ । हामीले खाद्यान्नको अभाव हुँदैन भनेर भनिसकेका छौँ ।

उनी भन्छन्–‘सामान खरिद गर्दा ठगी भएको लागेमा खबर गर्नुहोला सूचना प्राप्त हुँदा हामी अनुगमनका गएर कारबाही गर्छौं । नियमित रूपमा बजार अनुगमनसँगै ठगी गर्ने व्यवसायीलाई कारबाही गरिरहेका छौं । पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तुको रहेकाले उपभोक्ताले आवश्यकता भन्दा धेरै सामान खरिद गर्न पर्दैन । हामीसँग नुन, चिनी, चामल, ग्यास पर्याप्त मात्रामा स्टक रहेकाले बजारमा अभाव छैन । कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गर्छौँं ।’

बजारमा अन्य अत्यावश्यक वस्तुको अभाव छैन । दिनहुँजसो अनुगमन गरिहेको सरकारले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात छ । हाल २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममा रहेको र ७ हजार ५ सय मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेकाले चिनीको अभाव हुने देखिँदैन । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि पर्याप्त मात्रामा चामल मौज्दात रहेको विभागका सहायक सूचना अधिकारी पोखरेलले बताए ।

१० दिनमा ३३ व्यापारिक फर्मलाई कारबाही
कोरोनाभाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामाग्रीमा कालोबजारीको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

विभागले पछिल्ला १० दिनमा ३३ वटा व्यापारिक फर्मलाई कारबाही गरेको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत हुनेगरी कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको बेचबिखन तथा खरिद–बिक्री बिलबिजकबिनै व्यापार गरिरहेका यस्ता व्यापारिक फर्मलाई कारबाही गरिएको हो । कारबाहीपछि विभागले ती व्यापारीलाई २५ लाख १५ हजार रुपैयाँ जरिवानासमेत तिराएको छ ।

खराब व्यापारिक क्रियाकलाप गर्ने त्यस्ता फर्ममा अधिकांश औषधि पसल छन् । त्यसमा पनि सर्जिकल मास्क र सेनिटाइजरको कृत्रिम अभाव सिर्जना गरि बढी मूल्यमा बेच्ने औषधि पसलहरु कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्