कोइराला सहभागि हुने कार्यक्रम देउवाले रोकेपछि काँग्रेसमा शुरु भयो अर्को लफडा



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको १४ औं महाधिबेशनको मिति घोषणा भएसंगै शक्ति संघर्ष शुरु भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं अगामी महाधिबेशनबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका डा.शेखर कोइराला सहभागि हुने कार्यक्रम स्थगित गरेका छन् ।

आज गोरखामा प्रशिक्षण कार्यक्रममा आयोजना गर्ने भनिएको थियो । जहाँ कोइराला सहभागि हुने र प्रशिक्षण दिने कार्यक्रम तय भएको थियो । तर १४ औं महाधिबेशनबाट पुनः सभापति हुने तयारीमा रहेका देउवाको ठाडो निर्देशनमा कोइराला सहभागि हुने कार्यक्रम स्थगित गरिएको छ ।

यस अघि देउवाले हालै महामन्त्री एवं सभापतिका अर्का उम्मेदवार डा.शशांक कोइराला निकट नवलपरासी पश्चिमका कार्यवाहक सभापति अर्जुन पोखरेललाई बर्खास्त गर्दै आफू निकटका बिष्णु पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । साथै हालै देउवाले आफू निकटका दर्जनौ नेतालाई केन्द्रीय सदस्य, बिभागीय प्रमुखको जिम्मेवारी दिएका थिए ।

महाधिबेशन घोषणासंगै शक्ति संघर्षमा नेताहरु उत्रेपछि बिधान मिचेर भए पनि आफू कसरी बलियो बन्ने भन्ने दौडमा रहेका छन् । देउवा समुहले जसरी पनि कोइराला परिवारलाई तह लगाउँदै पुन सभापति बन्ने दाउमा रहेको आरोप कोइराला समुहले लगाउँदै आएका छन् ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणका कारण गोरखाको प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए । सरकारले सभा, सम्मेलन, प्रशिक्षण, भेला लगायत ठुला कार्यक्रम नगर्न गरेको आग्रह अनुसार कार्यक्रम स्थगित गरिएको उनले स्पष्ट पारे । कार्यक्रम पार्टी निर्णय अनुसार नै स्थगित गरिएको उनले बताए ।

पार्टीको सदस्यता नविकरण, सदस्यता वितरण लगायतका सबै कार्यक्रम स्थगित भएको बताउँदै उनले कोही कसैको कार्यक्रम रोक्ने काम नभएको बताए । यस बिषयमा सबै नेतालाई जानकारी गराईएको बताउँदै उनले कसैले पार्टी निर्णयको बिरुद्धमा कुनै कार्यक्रम गर्न नपाउँने बताए ।

सरकारले यस अघि नै राजनीतिक दल, सामाजिक संघ संस्थाहरुले भेला तथा सभा सम्मेलन गर्न रोक लगाएको सन्दर्भमा कांग्रेसले पनि कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको शर्माले बताए ।

कोरोना भाईरसको संक्रमणको बिषयमा काँग्रेस नेताले पटक पटक संसद बैठकमा आवाज उठाउँदै आएका छन् । आफैले आवाज उठाउँने तर पार्टीको निर्णय कार्यान्वयन नगर्ने हो भने त्यो ठिक नहुने उनले बताए ।

तर, महाधिबेशनको घोषणासंगै भईरहेको नियुक्ती तथा जिम्मेवारी बाँडफाँडमा कोइराला परिवारका नेताका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतकाले बिरोध गरिरहेका छन् । देउवा मात्रै नभई कोइराला, पौडेलका साथै पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताले अहिले गुटगत भेला, कार्यक्रम, सम्मेलन गर्दै शक्ति आर्जन गर्ने काममा लागेका छन् ।

पौडेलले हालै बीरगंजमा एक भेला सम्पन्न गरेका छन भने काठमाडौं फर्किएसंगै अर्को बैठक काठमाडौंमा गरिसकेका छन् । जनकपुरमा समेत यस्तै एक गुटगत भेला समेत भएको छ । बिभिन्न नाममा बिभिन्न ठाउँमा नेताहरुले यस्तो कार्यक्रम गर्दै आफूलाई सभापतिमा सहयोग गर्न नेता, कार्यकर्तासंग सहयोग मागिरहेका छन् ।

७ –१० फागुन २०७७ मा १४ औं महाधिबेशन गर्ने काँग्रेसले निर्णय गरिसकेको छ । अगामी नेतृत्वका लागि सभापति देउवा, वरिष्ठ नेता पौडेल, पुर्वमहामन्त्री सिटौला, कोईराला परिवारबाट महामन्त्री डा. शशांक र केन्द्रीय सदस्य डा. शेखर आन्तरिक तयारीमा जुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्