दाईभाई इट्टा उद्योगमा आक्रमण, ८ घाइते, एक गम्भीर



रौतहट : रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं– ६ दुधियाभार चौक छेउमा रहेको दाईभाई इट्टा उद्योगमा एक समूहले आक्रमण गर्दा लाखौं मूल्यको क्षति भएको छ । वडा नं ६ का वडा अध्यक्ष अशोक यादवको अगुवाईमा आएका समूहले आज (आइतबार) बिहान ९ बजे सो इट्टा उद्योगमा आक्रमण गरेका हुन् । बाँस, लाठी, घरेलु हातहतियारसहित आएका समूहरुले इट्टा उद्योगका सञ्चालक रामबाबु चौधरीको भाई मुकेश कुमार चौधरीसहित ८ जनामाथी संघातिक आक्रमण गरेको राबाबुले जानकारी दिए ।

कुटपिटबाट मुकेशलाई गम्भीर चोट लागेको र अन्यलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले बताए । कुटाइबाट गम्भीर घाइते मुकेशलाई गरुडामा समान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ प्रहरीले जनाएको छ । सामान्य घाइते अन्यको उपचार गरुडामै भइरहेको डीएसपी महतोले बताए ।

आक्रमणकारीहरुले एक थान जेसीबी, एक थान टि«पर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । दाईभाई इट्टा उद्योगमा २० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए । घटनामा संग्लग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् भने अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ । यसअघि हिजो शनिबार साझ गरुडा नगरपालिका पोटियाहीमा वडा अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूहबीच भनाभन हुँदा ढुङामुढा समेत भएको थियो ।

प्रहरीको सक्रियताले गएराती कुनै घटना हुन नसकेको भएपनी आज बिहान वडा अध्यक्ष अशोक यादवसहितको समूहले आक्रमण गरेका थिए । पीडित रामबाबु चौधरीले अशोक यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफुले अख्तियारमा मुद्दा गरेको कारण सोही रिसिवीमा यो घटना घटाएको र आक्रमणबाट ७० लाखभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । अहिले घटना स्थल वडा अध्यक्षको गाउँ अमरपट्टी र पोटीयाही गाउँमा घटना नदोहरियोस भने उद्देश्यले ठूलो संख्यामा नेपाल प्रहरी र शस्त्र प्रहरीको उपस्थित रहेको छ ।

यस विषयमा वडा अध्यक्ष आशोक यादबसङ कुरा गर्दा घटनामा आफ्नो कुनै समलग्नता नरहेको दाबी गरेका छन् । आफूले कुनै प्रकारको विवदास्पद काम नगरेको बताउँदै यादवले जनप्रतीनिधि भएको बेला यस्तो झैझगडा र समाजिक सदभाव बिग्रने कामको कल्पनै गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्