भारतसँग सीमा जोडिएको २० नाका आज राति १२ बजेबाट बन्द



काठमाडौं : भारत सरकारले नेपालसँग सिमाना जोडिएका नाका आज (आइतबार) राति १२ बजेदेखि बन्द गर्ने भएको छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय भारतले गरेको छ ।

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु आज राति १२ बजेदेखि बन्द गर्ने भएको हो ।

अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउने भएका छन् भने अन्य नाकाहरु भने बन्द हुने छन् ।

भारतको गृहमन्त्रालयका एक अधिकृत अनिल मलिकले भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने बताए । तर, तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् ।

प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ ।

भारतमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने ८२ जना संक्रमित भएको पाइएससँगै भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको हो ।

यसैगरी भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ । साथै सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश निक्षेद गरिएको छ ।

यसैगरी भारत सरकारले पर्यटक भिसा बन्द गर्ने र कोरोनाबाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा उडान रोक्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्