कोभिड–१९ बाट बच्नका लागि ‘नमस्ते’ गर्न नेपालको आग्रह



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गरेका छन्।

कोभिडविरुद्ध लड्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच सञ्चालन भएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोभिड साझा समस्या र चुनौती भएकाले यसविरुद्ध लड्न साझा पहल हुनुपर्नेमा जोड दिँदै सचेतना अभियान चलाउन, रोकथामका लागि परिचालित हुन र आम भेला आयोजना नगर्न पनि आग्रह गरे।

कोभिडविरुद्ध लड्न सार्क आपत्कालीन कोष खडा गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा अस्पताल तथा अनुसन्धान र उपचारका लागि सञ्जाल विस्तार गर्न पनि सुझाव दिए।

उनले आफ्ना आर्थिक कारोबार, आन्तरिक व्यापार र क्षेत्रीय संवादलाई निरन्तरता दिन पनि आग्रह गरे। सो कन्फरेन्समा सार्कका अध्यक्षसमेत रहेका ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिएका थिए। – रासस

प्रतिक्रिया दिनुहोस्