कोटेश्वर–कलङ्की सडकमा लेन व्यवस्थापन : कम गतिमा गुड्ने गाडी बायाँ लेनबाट



काठमाडौं : कोटेश्वर–कलङ्की आठ लेन सडकखण्डमा आजदेखि निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरी नयाँ नियम लागू गरिएको छ । उक्त सडकमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी बाया सर्भिस लेन तथा निजी र साना सवारी साधन दाया लेनबाट मात्र चलाउन पाइने व्यवस्था लागू गरिएको हो ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित गर्न, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ती बसाउन उक्त नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले कोटेश्वरमा आज एक समारोहका बीच उक्त नियम लागू भएको घोषणा गरेका हुन्।

सो क्रममा कलाकार जितु नेपाल, केदार घिमिरेलगायत प्रहरी अधिकृत, यातायात व्यवसायीको उपस्थिति रहेको थियो भने ट्राफिक नियमसम्बन्धी सचेतनाको लागि सारङ्गी टोलीले साङ्गीतिक प्रस्तुती दिएको थियो ।

लेन प्रयोगका लागि पहिलो चरणमा प्रचारप्रसार गरिने र त्यसपछि नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रु एक हजार ५०० सम्म जरिवाना गर्ने जनाइएको छ । यसअघि भक्तपुरको जडिबुटीबाट सूर्यविनायकसम्म उक्त नियम लागू गरिएको थियो ।

अर्को चरणमा कोटेश्वर– गौशाला र कलङ्की नागढुङ्गामा उक्त नियम लागू गर्ने तयारी गरिएको महाशाखाले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्