प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन गोप्य मतदान हुँदै



जनकपुरधाम : २ नम्बर प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउन आज (मंगलबार) गोप्य मतदान हुँदैछ । त्यसका लागि प्रदेशसभाको बैठक आज बिहान ८ बजे नै बोलाइएको छ ।

प्रदेशको नाम र स्थायी राजधाजी टुंग्याउन गोप्य मतदान हुने प्रदेश सभामुख सरोज कुमार यादवले जानकारी दिए । मतदान शुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने र उनीहरुको लागि ५ मिनेट समय छुट्याइने उनले बताए ।

छलफल सकिएलगत्तै मतदान हुने र यसका लागि सबै तयारी पूरा भइसकेको सभामुख यादवले बताए ।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ भने नामको विषयम सहमति हुन नसक्दा गोप्य मतदान हुन लागेको हो ।

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । जसमा सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ ।

नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

यसअघि प्रदेश नाम र राजधानीका विषयमा सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन भएको थियो । तर, सो समितिमा पनि नामको विषयमा सहमति हुन सकेन भने राजधानी जनकपुरधाम राख्ने भने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्